३६ निजी ल्याबमध्ये विदेश जान पाँचको पिसिआरलाई मात्रै मान्यता, जनता दिनभर जोखिमपूर्ण लाइनमा

सरकारी अस्पतालमा रिपोर्ट आउन तीन दिन लाग्छ, विदेश जान ४८ घन्टायताको रिपोर्ट अनिवार्य भएकोले निजीमा जान बाध्य

- राजधानीका स्टार, ह्याम्स, मेडिसिटी र मनमोहन तथा भैरहवामा युनिभर्सलको पिसिआरलाई मात्र मान्यता
- विदेश जाने यात्रुको रिपोर्ट विश्वसनीय चाहिने सरकारको तर्क, तर स्वदेशमै बस्ने नागरिकको रिपोर्ट जस्तो भए पनि हुन्छ ? 

 

आइतबार साउदी उड्ने तयारीमा रहेका लुम्बिनीका मोहम्मद उमर शुक्रबार स्टार अस्पताल परिसरमा लाइनमा थिए, पिसिआरका लागि १११६ नम्बरको टिकट लिएका थिए। दिउँसोको ३ बजिसकेकोे थियो। उनको पालो सयजनाभन्दा पछाडि थियो। ‘म्यानपावरले पिसिआर परीक्षणका लागि ह्याम्स वा स्टार अस्पतालमा जानू भनेको थियो, त्यही भएर यता आएको,’ उनले भने। 

सरकारले देशभर ५१ सरकारी र ३६ निजी प्रयोगशालालाई पिसिआर परीक्षणको अनुमति दिएको छ। तर, सरकारी अस्पतालमा जम्मा हजार रुपैयाँमा पिसिआर परीक्षण हुन्छ, तर रिपोर्ट आउन तीनदेखि चार दिनसम्म लाग्छ। तर, विदेश जान अहिले ४८ घन्टाभित्रको रिपोर्ट अनिवार्य गरिएको छ। 

निजी अस्पतालमा ६ देखि आठ घन्टामा नै रिपोर्ट आउँछ, त्यसैले दोब्बर पैसा (दुई हजार) तिरेर पनि यात्रुहरू निजी अस्पताल जान बाध्य छन्। तर, ३६ निजी प्रयोगशालामध्ये जम्मा पाँचको पिसिआर देखाए मात्र विदेश जान पाइन्छ। निजीमा स्टार, ह्याम्स, मेडिसिटी अस्पताल र मनमोहन मेमोरियल मेडिकल कलेज तथा उपत्यकाबाहिर युनिभर्सल मेडिकल कलेजले मात्र मान्यता पाएका छन्। यसरी थोरै प्रयोगशालामा धेरै मान्छेको परीक्षण गराउँदा प्रयोगशालामा नै भिड बढेर संक्रमणको जोखिम बढेको छ। 

प्रकाशित मिति: : 2021-05-02 08:03:00

प्रतिकृया दिनुहोस्