निषेधाज्ञामा आजदेखि थप कडाइ हुँदै

उपत्यकामा जारी निषेधाज्ञामा आज (आइतबार)देखि प्रशासनले थप कडाई गर्ने भएको छ।

सडकमा सवारी साधन तथा मानिसको आवतजावत नघट्दा कोरोनाको जोखिम बढ्ने भन्दै प्रशासनले थप कडाई गर्ने तयारी गरेको काठमाडौँ प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

‘कोरोनाको जोखिमलाई कम गर्न निषेधाज्ञा गरेपनि सडकमा सवारी साधन तथा मानिस आवतजावत गरेको पायौं, त्यसैले आजदेखि थप कडाई गर्ने तयारीमा छौं।’, प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।

शनिबार पराजुलीसहित जिल्ला सुरक्षा समितिको टोलीले शनिबार काठमाडौँका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेर निषेधाज्ञा कार्यान्वयनको अवस्था जानकारी लिएको थियो।

कोरोना भाइरसको संक्रमण दरमा वृद्धि आएसँग उपत्यकामा वैशाख १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा लगाइएको थियो। निषेधाज्ञा जारी गरे पनि कोरोना भाइरस संक्रमितको संख्यामा दैनिक वृद्धि भइरहेको छ।

पछिल्लो अवस्थालाई हेर्दा थप एक साता निषेधाज्ञा थप्ने तयारी भएको जिल्ला प्रमुख अधिकारी पराजुलीले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-05-02 07:41:00

प्रतिकृया दिनुहोस्