कीर्तिपुर केन्द्रीय लाइब्रेरीमा उनलाई पहिलोचोटि देखेको थिएँ। सलक्क परेको लामो अनुहार, ठूला- ठूला आँखा र खुला छाडेको कपालमा कालो चश्मा अडाएकी उनी जिन्स र टिसर्टमा अल्ट्रा मोडर्न देखिन्थिन्।
म एमए थेसिसको लागि रिफरेन्स बटुल्न अंग्रेजीका थुप्रै किताबहरू डेस्कमाथि थुपारेर स्टडी रूममा बसेको थिएँ।
उनी नजिकैबाट हिँड्दा मैले जास्मिन फूलको सुगन्ध सँगै सर्सर हावा चलेको महशुस गरें।
मेरा आँखा किताबबाट त पहिले नै हटिसकेको थियो। अचानक उनको आँखामा निमेसभरको लागि अडिन पुग्यो। एक्कासि सयपत्री फूल फक्रिएझैं उनको अनुहारमा मुस्कान छरियो।
मेरो छातीको धड्कन एक्कासि बाजा बजेझैं बज्न थाल्यो।
त्यसपछि उनी सरासर अगाडि बढिन् र अर्को पट्टिको बेन्चमा केही किताबहरू जम्मा गरेर बसिन्।
एकैछिनमा उनीसँग एक जना अर्को साथी पनि जोडिन पुगिन्। मेरो भने छातीको धड्कन अझै घटेको थिएन।
पाँच वर्ष क्याम्पस र दुई वर्ष युनिभर्सिटी पढुन्जेल थुप्रै केटी साथीहरूसँग सामान्य बोलचाल त भएकै थियो। तर यस्तो महशुस पहिले कहिल्यै गरेको थिइनँ। शान्त लाइब्रेरीमा संगीत गुन्जेजस्तो आभास भैरहेको थियो।