आज, सिकिस्त बिरामीलाई पनि अस्पतालमा बेड छैन भनेर सार्वजनिक सूचना जारी गर्ने सरकारले धेरै अघि होइन, १० दिनअघि मात्रै अथाह भिड जम्मा गर्दै थियो।
नयाँ भेरियन्ट देखिएसँगै कोरोना महामारी भयावह बन्दै छ। संक्रमितले अस्पतालमा उपचार पाउन कठिन भइरहेको छ। यही वेला सरकारले देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण बढेको भन्दै ‘हात उठाएको’ छ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहर देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने गरी बढेको बताएको छ। संक्रमितलाई अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भन्दै मन्त्रालयले नागरिकलाई थप संवेदनशील हुन आग्रह गरेको छ।
‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ। त्यसैले सबै दाजुभाइ, दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ,’ मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्यका मापदण्डहरूको संवेदनशील भई कडा रूपमा पालना गर्नु/गराउनुपर्नेछ। देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनुहुन हार्दिक अपिल छ।’
शुक्रबार मात्रै देशभर पाँच हजार सात सय २७ जनामा संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भएको छ। पछिल्लो १७ दिनमा काठमाडौं उपत्यकामा मात्रै संक्रमण झन्डै १२ गुणाले बढेको छ। गत १ वैशाखमा उपत्यकामा दुई सय ५४ संक्रमित देखिएका थिए। शुक्रबार (१७ वैशाख) दुई हजार नौ सय ५६ जनामा संक्रमण देखिएको छ।