राजधानी उपत्यकासहित २२ जिल्ला कोरोनाबाट अति प्रभावित: स्वास्थ्य मन्त्रालय

File Photo - RSS
File Photo - RSS

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ 'भेरियन्ट' को कोरोना भाइरस डरलाग्दो गरी फैलिरहेको जनाउँदै देशका २२ जिल्लालाई ‘अति प्रभावित जिल्ला’ को सूचीमा राखेको छ। 

मन्त्रालयले राजधानी उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरसहित मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कंचनपुरलाई 'रेड जोन'मा रहेको जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीकुमार अधिकारीले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसकिने बताए। उनले संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू अपनाउनु नै उत्तम उपाय भएको बताउँदै मास्क लगाउन, भौतिक दूरी कायम गर्न र बेलाबेलामा साबुनपानीले हात धुन अनुरोध गरेका छन्।

मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यका मापदण्डहरुको संवेदनशिल भई कडा रुपमा पालना गर्नु गराउन पनि आग्रह गरेको छ।

मन्त्रालयले सार्वजनिक स्थलहरुमा जाने भीडभाड गर्ने कामहरु बन्द गर्ने गराउने काम गर्न अत्यन्त जरुरी भइसकेको जनाएको छ।

प्रकाशित मिति: : 2021-04-30 17:14:00

प्रतिकृया दिनुहोस्