सरकारले विगतबाट पाठ नसिक्दा कोरोना बढ्योः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरवाही, असंवेदनशीलता र अकर्मण्यताका कारण कोरोना महामारी व्यापक रुपमा फैलिएको आरोप लगाएका छन्।

आफ्नै निवास बुढानिलकण्ठमा केहीबेरअघि पत्रकारसम्मेलन गर्दै देउवाले सरकारले विगतबाट पाठ नसिक्दा तथा उद्घाटन, भीडभाड र तडकभडकमा व्यस्त रहेर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणतर्फ कुनै ठोस काम नगरेकाले यस्तो अवस्था आएको उल्लेख गरे।

सरकारले लकडाउन गर्ने निर्णय गरेपछि पनि परीक्षण नगरी उपत्यका छाड्न दिँदा लाखौं मानिस जिल्ला जिल्ला पुगेको र यसले संक्रमण व्यापक बन्नसक्ने उनले बताएका छन्। कांग्रेस सभापति देउवाले संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरको आपूर्ति सुनिश्चित गर्न तथा अस्पतालका बेडलगायतका पूर्वाधार व्यवस्था गर्न माग गरेका छन्।

कट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितको पीसीआर परीक्षण व्यापक बनाउन तथा सीमा नाकामा अनिर्वाय पीसीआर गर्न र रिपोर्ट नआउँदासम्म होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउन पनि उनले माग गरेका छन्।

कांग्रेसले स्वास्थ्य मापदण्ड पालनाका लागि देशभर सचेतना अभियान चलाउने प्रतिवद्धतासमेत जनाएको छ। उपचारको पहुँचमा पुग्न समस्या भएका संक्रमितलाई सहयोग गर्ने तथा लकडाउनका कारण आर्थिक सामाजिक समस्या परेकाहरुलाई सहयोग अभियान चलाउने पनि देउवाले  बताएको छ।

‘अत्यावश्यक अक्सिजनन भेन्टिलेटरको आपुर्ति तत्काल सुनिश्चित गरियोस, अस्पतालमा आइसियु बेड, आवश्यक औषधिको तत्काल समुचित व्यवस्था गरियोस, कन्ट्रयाक टेसिङलाई व्यापक बनाइयोस्,’ देउवाले पत्रकार सम्मेलनमा भने।

यस्तै सीमा नाकाबाट आएकाहरुमा परिक्षण बढाउन र उनीहरुलाई होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई जोखिम भत्ताको व्यवस्था तत्काल गर्न पनि देउवाले आग्रह गरेका छन्।

काठमाडौं उपत्यका लगायतका ठाउमा लकडाउनको निणर्यपछि उपत्यका छाड्ने समय दिएपछि संक्रमित गाउँगाउँ पुगेको भन्दै देउवाले सबैलाई सुरक्षित रहनसमेत आग्रह गरेका छन्। देउवाले खोपको आपुर्तिका लागि व्यवस्था गर्ने तर्फ तत्काल पहल गर्नसमेत सरकारलाई सुझाएका छन्।

यस्तै लकडाउनका कारण आर्थिक सामाजिक रुपमा मारमा परेकाहरुका लागि आवश्यक कार्ययोजना ल्याउनसमेत देउवाले सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले केन्द्रदेखि गाउँसम्मका पार्टीका सबै संरचनालाई कोरोना बिरुद्धको सचेतना अभियानमा परिचालित हुन निर्देशनसमेत दिएका छन। यस्तै आर्थिक सामाजिक समस्यामा परेकाहरुलाई सहयोग गर्ने अभियान चलाउनसमेत पार्टी पंक्तिलाई निर्देशन गरेका छन्।

उनले अमेरिकालाई खोप सहयोग गर्ने निर्णय गरेकामा धन्यवाद दिंदै यसअघि भारत र चिनलाई पनि खोप सहयोग गरेकोमा धन्यवाद दिएका छन्। यस्तै खोपको मात्रा सुरक्षित गरिराखेका देशहरुलाईसमेत बुक गरिएको कोटाबाट केही डोज नेपाललाई उपलब्ध गराउनसमेत पुनः आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2021-04-30 16:33:00

प्रतिकृया दिनुहोस्