उता सगरमाथाको शिखर नजिकिँदै थियो, यता कठिनाइ झन् झन् बढ्दै थियो।
माथि उक्लिन पाइला उचाल्दा शरीरको तागत ओह्रालो झर्थ्यो। यसरी ‘रिभर्स डाइरेक्सन’ मा गइरहेको शरीरको ऊर्जालाई उनी थोपाथोपा बटुलेर फेरि अर्को पाइलामा भर्थिन्।
जमेको हिउँ, कठ्याङ्ग्रिदो चिसो अनि उच्च भेगका जटिलताले कल्पना महर्जनलाई ‘शिखर कसरी चुम्ने’ भन्दा अर्को कुरा सोच्न दिइरहेको थिएन।
यस्तोमा अचानक बिपत्ति आइलाग्यो।
उनी झण्डै ८ हजार सात सय मिटर भन्दा माथि पुगिसकेकी थिइन्। त्यतिबेलै खुट्टाले पत्तै नपाई भुइँ छोड्यो। र, कहालिँदै तल झरिन्।
‘मेरो मनमा ‘गएँ’ भन्ने परिसकेको थियो, तै कम्मरमा बाँधेको डोरीले झुण्ड्याइदिएछ,’ कल्पना भन्छिन्, ‘म बाँचे।’
यो घटना पछिल्लो सगरमाथा आरोहणको बेला भएको थियो। अर्थात्, २०१९ को मे २३ तारिखका दिन।
त्यतिखेर उनी दोस्रोपटक सगरमाथा शिखरतर्फ उक्लने प्रयत्न गरिरहेकी थिइन्। अघिल्लो वर्षमात्र दक्षिणी मोहडाबाट शिखर चुमेकी उनी यसपाला भने तिब्बत अर्थात् उत्तरी मोहडाबाट चढ्न बल गरिरहेकी थिइन्।