काठमाडौं उपत्यकाका अस्पतालमा आइसियू अभाव भएपछि जटिल संक्रमितहरू भर्ना गर्न समस्या भएको छ।
अहिले अस्पतालहरूमा दैनिक मानिसहरूले आइसियूका लागि फोन गर्ने गरेको चिकित्सकहरू बताउँछन्।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले भने, 'हिजोमात्र मलाई झन्डै चालिस जनाले आइसियूका लागि फोन गर्नुभयो। तर अस्पतालमा राख्ने ठाउँ छैन।'
काठमाडौंसहित उपत्यका बाहिरबाट पनि आइसियू बेडका लागि फोन आउने गरेको भन्दै उनले अब अस्पतालले धान्न नसक्ने जनाए।
'नेपालगञ्ज, बुटवलबाट आइसियूका लागि फोन आउँछ। अब टिचिङले मात्र सक्ने कुरा हुँदैन। अब त्यहाँका बिरामीलाई त्यहीँ हेर्नुपर्छ,' काफ्लेले भने।
अहिले टिचिङमा कोभिडका लागि भनेर १२ वटा आइसियू बेड छन्। जसमा ११ जना संक्रमित उपचाररत छन्। ४ जना भेन्टिलेटरमा छन्। अब थप आइसियू बेड विस्तार गर्न सकिने भन्दै डा. काफ्लेले अब बढीमा पाँच वटा आइसियू थप्न सकिने जनाए।
आइसियू अभाव हुन थालेपछि अस्पतालले एचडियू बेडलाई नै थप उपकरण जडान गरेर अस्थायी आइसियू बनाउने तयारी गरिएको डा. काफ्ले बताउँछन्।