पर्यटकहरुको रोजाइमा 'फुङफुङ्गे होमस्टे'

ताप्लेजुङको प्रसिद्ध फुङफुङ्गे झरनामा आउने पर्यटक लक्षित गरेर मिक्वाखोला गाउँपालिका–४ साँबाको तेम्बामा एक वर्ष अघिदेखि सञ्चालनमा आएको होमस्टे (घरबास) अहिले आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ।

कोभिड–१९ को महामारीबीच सञ्चालनमा आएको होमस्टेले विस्तारै पर्यटकको मन जित्न थालेको हो। गाउँ घरमै उत्पादन गरेको खाद्य वस्तुले बजार पाउने भएकाले राम्रो आम्दानीसमेत हुन थालेको  होमस्टे (घरबास) सञ्चालकको भनाइ छ।

विस्तारै पाहुना आउन थालेपछि आम्दानी पनि शुरु भएको छ। फुङफुङ्गे सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष विजय लिम्बूले पछिल्लो समय शुरु भएको आन्तरिक पर्यटकको चहलपहलले सञ्चालकमा आशा र उत्साह जगाएको बताए।

कोभिडको महामारीले सबै क्षेत्र ठप्प बनाएपछि होमस्टे सञ्चालनको कुनै अनुभूत गर्न नपाएपनि अहिले घरघरमा पाहुना राख्न पाउँदा र सेवा दिन पाउँदा सञ्चालकको मुहारमा विस्तारै खुशी छाउँदै गएको लिम्बूले बताए।

जिल्लाकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य फुङफुङ्गे झरनाको भ्रमण तथा अवलोकन गर्न सयौं पर्यटक त्यहाँ पुग्न थालेका छन्। ताप्लेजुङसहित पाँचथर, तेह्रथुमलगायत पूर्वका जिल्लाबाट आन्तरिक पर्यटक झरनाको भ्रमणमा पुग्ने गरेका छन्।

तेम्बा बस्ती नजिक रहेको फुङफुङ्गे झरनाको भ्रमण तथा अवलोकनमा जाने पर्यटकले नै होमस्टे भरिभराउ हुने गरेको सञ्चालक बताउँछन्। करिब डेढ दर्जन घरमा होमस्टे सेवा गरिएको कुनै दिन सबै घरमा पाहुनाको बास हुने गरेको सञ्चालक सन्तोष लिम्बूले जानकारी दिए।

लिम्बू समुदायको मौलिक कला र संस्कृति प्रदर्शनले होमस्टेमा आउने पाहुनाको मन जित्दै आएको छ भने गाउँ नै ढाकेको अलैँची खेतीसमेत अवलोकन गर्नमा पाहुनाहरु व्यस्त हुने गरेका छन्।

अर्का सञ्चालक सन्तकुमार लिम्बूका अनुसार होमस्टे सेवा लिन आउने सेवाग्राहीअर्थात् पाहुनालाई लिम्बूको मौलिक संस्कृति याःलाङ (धान नाच), केःलाङ (च्याब्रुङ नाच), येःबालाङ (बिजुवा नाच) जस्ता प्रस्तुतीहरु देखाउने गरिएको छ। होमस्टेलाई व्यावसायिक रुपमा भन्दा पनि सेवामुखी बनाइएको सञ्चालक समिति अध्यक्ष लिम्बूको भनाइ छ। 
 

प्रकाशित मिति: : 2021-04-24 10:00:00

प्रतिकृया दिनुहोस्