खडेरीले बालिनाली सुक्दा कर्णालीका किसानकाे मनमा डँढेलो

जुम्ला तातोपानी गाउँपालिका -४ कि जयकली सार्कीकाे खेतमा छरेका जाै राम्ररी हुर्केका छैनन्।

उनकाे मात्रै हाेइन, पूरै गिडीखाेला गाउँभरिका खेतमा उस्तै छन्।

बालीनालीकाे हुर्काइमा देखिएकाे समस्या एउटा गाउँकाे मात्रै हाेइन, सिंगाे जुम्ला जिल्ला अझ कर्णालीकै हाे। अघिल्ला वर्षहरुमा चैत २० गते धानकाे व्याड बीउ छर्नेबित्तिकै जाै बढ्न थाल्थे। जाै र धानकाे एउटा प्रतिस्पर्धात्मक लाेक कथा नै छ।

कथाकाे सार यस्ताे छ– 'हिउँदमा सुतेको जौ चैत २० गतेसम्म अल्छि गरेर सुतिरहन्छ। धानको बीउ व्याडमा आएको थाहा पाएपछि ऊ ब्यूँझन्छ। आफूभन्दा पाँच महिनापछि छरेको धानको बीउले जित्ला भनेर ऊ आतुर हुन्छ। त्यसैले धानको बीउ ब्याडमा आएपछिका डेढ महिनामा जौ ह्वात्तै बढ्छ। फुल्छ, फल्छ र पाकिसक्छ।'

लाेक कथामा यस्ताे भए पनि हिउँद अत्यधिक चिसाे हुने हुनाले जाै बढ्दैन। जब चैत २० लाग्छ, तब तापक्रम पनि बढ्छ। पानीकाे मात्रा मिल्न गएमा गहुँ हलक्कै बढ्छ र जेठकाे पहिलाे हप्ता पाकेर काट्न मिल्ने भइजान्छ।

सार्कीले जेठमा काट्न मिल्ने भए पनि फल गतिलाे लाग्नेमा आफू विश्वस्त नरहेकाे बताइन्। 'मंसिरमा छरेका जाै जेठमा काट्ने हुन्छन् तर फल गतिलाे लाग्दैन,' उनले भनिन्, 'हिउँदा हिउँ आएन। अस्ति अलिकति परेकाे पानी जल छरेजस्ताे मात्रै भयाे। हिउँदे बाली नहुने लगभग पक्का छ। बर्खे बाली पनि यस्तै भयाे भने त भाेकमरी हुन्छ।'

खेतमा कुलाकाे पानी लगाएर भए पनि सिंचाइ गरिने हुनाले बालिनाली थाेरै भए पनि सप्रिएकाे छ तर पाखाे बारीकाे अन्न बाली साेचेजस्ताे नभएपछि तिला गाउँपालिका–९ का मुनबहादुर बुढा चिन्तित छन्।

उनले यो वर्ष निकै मेहनत गरेर हिउँदे बाली जौ र गहुँ छरेकाे सुनाए। 'हिउँदे बाली राम्रो होला र भोकमरी नहोला भन्ने सोचका साथ खेतीपाती गरेका हाैँ,' उनले भने, 'खडेरीले जाै, गहुँ सकेका छन्। अहिले बाली सुकेर सोत्तर बनेकाे छ। आगो लगाए पनि बल्ने खालकाे छ।'



श्वासनलीमा खाना अड्किएर इन्फेक्सन: पैसा पनि सकियो, ज्यानको भर छैन



कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा खेतमा लगाएकाे बाली गतिलाे भए पनि पाखाेमा लगाएकाे जमीनमा सिंचाइ नहुँदा समस्या आएकाे बताउँछन्। उनले भने, 'जाै पाक्ने बेला भइसक्यो। पानी परेको छैन। जमीनमा चिस्यान नहुँदा नपाक्दै बालिनाली सुकेकाे भनेर किसानहरु गुनासाे गरिरहेका छन्।'

अहिले हरियाली हुनुपर्ने डाँडाकाडाँ सुख्खा छन्। जताततै डँढेलो लागेकाे छ। धुलो, धुँवाले जनजीवन पनि अस्तव्यस्त छ। मुनबहादुरले थपे, 'बालीनाली बारीमै सुक्दा भोकमरी पर्ने निश्चित छ।'

यो वर्ष जुम्लामा खडेरी परेको छ। हिउँदमा हिउँ पनि परेन। वर्षामा राम्रोसँग वर्षा हुन सकेन। जााडाे महिनामा पश्चिमी वायुकाे प्रभाव कम परेकाे जल तथा माैसम विज्ञान पूर्वानुमान माहाशाखाकी माैसमविद् गंगा नगरकाेटीले बताइन्।

'जाडाे महिनामा पश्चिमी वायुकाे प्रभावले वर्षा र हिमपात हुन्छ। याे वर्ष पश्चिमी वायु नै सक्रिय भएन,' उनले भनिन्, 'आएकाे पश्चिमी वायु पनि कमजोर खालकाे भयाे। जलवास्पयुक्त हावाहरु पर्याप्त मात्रामा आएन। त्यस कारण पनि बालिनालीमा चाहिने जति वर्षात् हुन सकेन।'

अर्का किसान धनबहादुर बुढा खेतवारी हेर्दा र बालिनाली देख्दा उदेक लाग्ने गरेकाे बताउँछन्। 'खडेरीको सबैभन्दा बढी मार हामी किसानलाई परेकाे छ। लेककाे पाखाेबारीमा सिचाइ सुविधा छैन। आकाशे भरमा खेती गर्नुपर्छ,' उनले आकाशतिर हेर्दै आवेग पाेखे, 'अहिलेकाे साल आकाशमा चिड्काे पड्याे।'



गाउँमा बनाएको गाडी कुद्न थालेपछि स्थानीय चकित



लामो समयको खडेरीका कारण जुम्लाको बालिनाली र फलफूल खेती नराम्ररी प्रभावित बनेको छ।  स्याउका बगैँचामा फल नलाग्दै फूल झर्ने समस्या आउनसक्ने कृषि विज्ञहरु बताउँछन्।

लामाे समयदेखि स्याउकाे बीमा गर्दै आएकाे शिखर इन्स्योरेन्स प्रालिका कर्णाली प्रमुख ऋषिराम पाण्डेका अनुसार, सामान्यतया स्याउ खेतीका लागि हिउँदमा हिउँ बढी परेकाे हुनुपर्छ भने चैत १८ देखि जेठ १८ सम्म गरी कम्तिमा ६० मिलिमिटर पानी परेकाे छ।

'चैतदेखि जेठसम्म दुई महिनाकाे अवधिमा ६० मिलिमिटर पानी परेन भने बीमा गरेका किसानहरुलाई क्षतिपूर्ति दिनुपर्छ,' उनले भने, 'याे वर्ष चैतदेखि यता निकै कम मात्र पानी परेकाे छ।'

हावापानी तथा फिल्ड कार्यलय जुम्लाकाे रेकर्डअनुसार चैत २५ गते शून्य दशमलव छ मिलिमिटर पानी परेकाे छ भने वैशाख ४ र ५ गते गरी जम्मा ११ मिलिमिटर पानी परेकाे छ।

पानी नपर्दा लेकका पाखाेबारीमा मकै खेती सुरु भएको छैन। जमीनमा चिस्यान छैन। किसानहरुले हलो जोतेर मकै रोप्न सकेका छैनन्। स्थानीय पदमबहादुर बुढाले भने, 'भोकमरी लाग्ने चिन्ताले त्रशित् छौँ।'

चन्दननाथ -१० का जानकीदत्त देवकोटाले खाेलाकाे पानी निकै कम भएकालेे याे वर्ष धानकाे बिउमा पानी हाल्न जानेहरुबीच दैनिक झगडा हुने गरेकाे बताए। 'खाेला सुकेर पानी पुग्दैन। बेर्नामा पानी हाल्न जानेहरुबीच दैनिक झगडा हुन्छ,' उनले भने, 'आजभोलि खेत पानी हाल्न जानु भनेकाे झगडा किन्न जानुजस्तै भएकाे छ।'



ओखर बेचेरै उपसचिवले भन्दा धेरै कमाउने 'खत्री', बोल्न पनि छैन फुर्सद (भिडियाेसहित)



खडेरीले खानेपानीका मुहान सुक्न थालेका छन्। जुम्लाका अधिकांश स्थानीय खोलाको दूषित पानी पिउन विवश छन्। बारीको बाली बारीमै सुकेको देखेपछि खेतीपाती गर्न किसानकाे जोशजाँगर हराएको छ।

खडेरी प्रभावित क्षेत्र पहिचान गरेर सरकारले राहतका प्याकेज ल्याउनुपर्ने स्थानीयवासीकाे भनाइ छ। वनभरि आगो लागेर सकिसकेको छ। सिंचाइ सुविधा भएको क्षेत्रमा सामान्य रूपमा बालीनाली सप्रिए पनि उच्चक्षेत्रमा बालनाली खडेरीले सुकेको छ।

अधिकांश किसान सुकेको जौ, गहुँ बालीमा आगो लगाएर मकै लगाउने तयारी गरिरहेका छन्। वर्षभरि मेहनत गरेर लगाएको खेतीपाती खडेरीको चपेटामा परेपछि किसानको मन पाेलेको छ।

'आठ महिनादेखि जुम्लामा पानी परेको छैन। यो हिउँदमा न हिउँ पर्‍यो, न  आवश्यक मात्रमा वर्षा नै भयो,' कृषि विकास कार्यालयका देवकोटाले थपे, 'जमीन सुख्खा छ।अस्तिकाे पानीले केही राहत भए पनि जुम्लाको एक नगरपालिकासहित सातवटै गाउँपालिकामा खडेरीका कारण बालीनाली सुकेको छ।'


गुल्जार रारा

प्रकाशित मिति: : 2021-04-21 09:31:00

प्रतिकृया दिनुहोस्