मंगलबार अविश्वास प्रस्ताव दर्ता हुने सूचना पाएपछि संसद्को चालू अधिवेशन सोमबार नै अन्त्य

प्रकाश धौलाकोटी | किरण दहाल | दिपेश शाही


मंगलबार दिउँसो १ बजेअघि नै संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गर्ने कांग्रेस र माओवादीको तयारी थियो । तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार १ बजेदेखि नै संसद् अधिवेशन अन्त्य भएको घोषणा गरिन् । गण्डकीमा पनि गत बुधबार मध्यराति यही शैलीमा प्रदेश सभा अधिवेशन अन्त्य गरिएको थियो ।

- संसद्का हरेक अधिवेशनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ, तर यो अधिवेशनमा प्रधानमन्त्रीले एक दिन पनि भाग लिएनन्

- ४४ दिन अधिवेशन चालू रहे पनि नौ बैठकमा १२ घन्टा २५ मिनेट मात्र संसदीय काम–कारबाही भयो

- अधिवेशनभर सरकारले नयाँ विधेयक दर्ता गरेन, सरकारले चाहेको एमसिसी प्रस्ताव सभामुखले अघि बढाएनन्

- अधिवेशन अन्त्य गर्दा सभामुखसँग परामर्श गर्ने प्रचलन छ, तर यसपालि सभामुखलाई पत्तो नै नदिई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन अन्त्य

......

सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको अन्तिम तयारी भएको  सूचनापछि प्रधानमन्त्री केपी ओलीले हठात् संसद्को अधिवेशन अन्त्य गराएका छन् । प्रमुख विपक्षी दल कांग्रेस र माओवादी मिलेर मंगलबार दिउँसो १ बजेअगाडि नै अधिवेशन अन्त्य गर्ने तयारी गरेका थिए, तर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले सोमबार दिउँसो १ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गरिन् । 

आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । उनीहरूबीच मंगलबार संसद् बैठकअघि नै अविश्वासको प्रस्ताव अगाडि बढाउने सहमति बनेको थियो । 

‘दुवै पार्टीले सोमबार आ–आफ्नातर्फबाट औपचारिक निर्णय गराउने र मंगलबार अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी थियो । त्यसैका लागि सोमबार नै कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक र माओवादीले स्थायी कमिटी बैठकसमेत बोलाएका थिए,’ कांग्रेसका एक नेताले भने । 

करिब डेढ महिनाको गृहकार्यपछि कांग्रेस र माओवादी सहमतिमा पुगेको थाहा पाएपछि प्रधानमन्त्रीले ओलीले मंगलबार बिहानै मन्त्रिपरिषद् बैठक डाकेर संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिकहाँ सिफारिस पठाएका थिए । संसद् अधिवेशन अन्त्य भएको खबर पाएपछि माओवादीले स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित गरेको थियो । त्यस्तै साँझ बसेको कांग्रेस बैठकमा संसद् अधिवेशन अन्त्य गर्ने ओलीको कदमबारे छलफल भए पनि अविश्वास प्रस्ताव दर्ताबारे ठोस निर्णय भएको छैन । 

प्रकाशित मिति: : 2021-04-20 06:23:00

प्रतिकृया दिनुहोस्