असिना पानीले रतुवामाईका किसानको लाखौँको बालीमा क्षति 

बिहिबार राति हावाहुरीसँगै आएको असिना पानीले मोरङको रतुवामाई नगरपालिकाका कृषकले लगाएको बाली नष्ट हुँदा लाखौँको क्षति भएको छ।

करिब एक घण्टा परेको असिना पानीले रतुवामाई नगरपालिका क्षेत्रमा कृषकहरुले लगाएको बाली नष्ट भएको हो।

असिना पानीले रतुवामाई–९ को कृषि सहकारी संस्थाका सदस्य किसान र स्थानीय किसानले लगाएको चैते धान, मकै, काक्रा, टमाटर, खुर्सानीलगायत नष्ट हुँदा लाखौँको क्षति भएको छ।

असिना पानीले पुर्याएको क्षतिको संस्थाका तर्फबाट विवरण संकलन गर्ने काम पनि भइरहेको कृषि सहकारी संस्थाका व्यवस्थापक सुरेश गौतमले जानकारी दिए।

क्षतिको विवरण संकलन गरेर रतुवामाई नगरपालिका, कृषि शाखा र कृषि विकाश निर्देशनालय विराटनगरमा बुझाइने उनले बताए।

रतुवामाई नगरपालिका–९ भौडाहामा युथ इटहरा एग्रोग्रुप प्रालिले सञ्चालन गरेको कृषि खेतीमा समेत लाखौँको क्षति गरेको छ।

असिना पानीले ग्रुपले एक बिगाहा क्षेत्रफलमा लगाएको खरबुजा, भिन्डी, दुई कट्ठा क्षेत्रफलमा लगाइएको रायोको साग, पाँच कट्ठा क्षेत्रफलमा लगाइएको टमाटर खेती नष्ट भएको छ।

ग्रुपले इजरायली मल्चीङ प्रविधिबाट कृषि खेती गर्दै आएको छ। असिना पानीले बालीमा क्षति पुर्याउँदा उत्पादन मुल्य रु १५ लाखको क्षति भएको ग्रुपका अध्यक्ष प्रकाश कार्कीले बताए। ग्रुपमा स्थानीय युवाहरु संलग्न रही सामुहिक कृषि खेती गर्दै आएका छन्।

असिना पानीले बालीमा क्षति पुर्याउँदा ठुलो नोक्सानी भएको ग्रुपका सदस्य तेजप्रसाद भण्डारीले बताए। विमा कम्पनीले समयमै कृषकको बाली विमा नगरिदिँदा ठुलो क्षति बेहोर्नु परेको भण्डारीले गुनासाे गरे।

मोरङमा बाली विमा गर्ने जिम्मा लिएको सानिमा जनरल इन्स्योरेन्स कम्पनीलाई पटक–पटक आग्रह गर्दै निवेदन दिएपनि बेवास्ता गर्दा ठुलो क्षति बेहोर्नु परेको एग्रोग्रुपले जनाएको छ।

बिहिबार राति हावाहुरीसँगै आएको असिना पानीले रतुवामाईका कृषकहरुको धान, सब्जी खेती लगायतमा ठुलो क्षति पुर्याएको रतुवामाई नगरपालिकाको कृषि शाखाले जनाएको छ।

आफुहरुले दुख गरेर लगाएको बाली असिना पानीले पुरै नष्ट गरेकाले सरकारले क्षतिपुर्ति दिनुपर्ने किसानहरुले माग गरेका छन्।

कृषि विकास निर्देशनालयका बरिष्ठ कृषि प्रसार अधिकृत प्रकाशकुमार डाँगीले मोरङकाे रतुवामाई क्षेत्रमा असिना पानीले ठुलो क्षति पुर्याएको खबर आएको बताउँदै क्षतिको विवरण संकलन गरेर राहतका लागि पहल गर्ने बताएका छन्।

किसानहरुलाई राहतका लागि निर्देशनालयको तर्फबाट प्रदेश सरकारसमक्ष पहल गर्ने उनले बताए।

प्रकाशित मिति: : 2021-04-16 13:11:00

प्रतिकृया दिनुहोस्