नेपाली छात्राको नेतृत्वमा फेरियो बेलायती विद्यालयको नाम

प्रजय शुक्ल
एक नेपाली विद्यार्थीको पहलमा बेलायतको दक्षिण–पश्चिम सहर ब्रिस्टलस्थित एक पुरानो माध्यमिक विद्यालयको नामै परिवर्तन हुने भएको छ। नेपाली छात्रा हेमलता पन्तको सक्रियतामा दासत्व झल्काउने ‘कोलस्टन्स गल्स स्कुल’ को नाम परिवर्तन गर्ने निर्णय भएको हो।

विद्यालयको नाममा जोडिएको ‘कोल्स्टन्स’ शब्द १७औं शताब्दीमा दासत्वलाई बढावा दिने व्यापारी ‘एडवर्ड कोलस्टन’बाट राखिएको हो। जुन धेरै वर्षदेखि कायम छ।

तर त्यो २१औं शताब्दीमा पनि विभेदको प्रतीक भएको भन्दै नेपाली विद्यार्थी हेमलता पन्तले विद्यालयको नामै फेर्ने अभियान थालिन्। जसमा उनले सबै विद्यार्थीको साथ पाइन्। फलस्वरूप अब विद्यालयको नाम ‘मोन्ट्पेलियर हाइस्कुल’ राखिने भएको हो।

नाम फेर्ने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी पन्त यतिबेला बेलायती मिडियामा छाएकी छन्।

गत वर्ष अमेरिकामा गोरा जातिका प्रहरीले काला जातिका अमेरिकी नागरिक जर्ज फ्लोइडलाई गिरफ्तार गर्ने क्रममा घाँटी थिचेर मारेपछि विश्वभर रंगभेदविरुद्ध आन्दोलन (ब्ल्याक लाइभ्स म्याटर) चर्किएको थियो। त्यतिखेर प्रदर्शनकारीले ब्रिस्टोल सहरस्थित एडवर्ड कोलस्टनको मूर्ति पनि तोडफोड गरेका थिए।

प्रकाशित मिति: : 2021-04-12 21:34:00

प्रतिकृया दिनुहोस्