बिस्केट जात्राः आठौँ पटक बुद्धकृष्णले जिब्रो छेड्दै

मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौँ पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेड्ने छन्।

गत वर्ष विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण जात्रा सञ्चालन हुन नसक्दा इतिहासमै पहिलोपटक रोकिएको यो जात्राले यस वर्ष भने निरन्तरता पाउने भए पछि जिब्रो छेड्न उनी तयार भएका हुन्।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रुपमा कार्यरत उनले कोरोना महामारी शुरु भएसँगै गत वर्षदेखि कोभिडका बिरामी मात्रै बोक्ने आइसोलेटेड एम्बुलेन्स चलाएर कोरोना सङ्क्रमितको सेवा गर्दै आएका छन्।

बुद्धकृष्णले भने, “मानवीय सेवा र कला संस्कृतिको संरक्षणमा लाग्दै आएको मैले गत वर्ष कोरोनाका कारण जात्रा रोकिएकाले जिब्रो छेड्न पाइन, यस वर्ष वैशाख २ गते आठौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने निर्णय गरेको छु, एम्बुलेन्स चलाएर विरामीको सेवा पनि गरिरहेको छु।”

नगरपालिकाले यस वर्ष बिस्केटका कुनै पनि जात्रा र पर्व नरोकिने सूचना जारी गरेपछि मध्यपुरथिमिमा मनाइने सबै जात्रा सञ्चालन हुने भएका हुन्।

प्रकाशित मिति: : 2021-04-12 10:55:00

प्रतिकृया दिनुहोस्