'याे चाेरिएकाे भाेट हाे,' पुरानाे पाका, गन्नेमान्ने, देश खाई सेस पल्टेका, लेख्न लागेकाे मात्र १६ वर्ष चानचुन पुगिसकेका पत्रकारकाे मुखबाट वाक्य फुट्याे।
मतगणना स्थलमा अरु मानिसको चर्को आवाज सुनेपछि चारवटा ठाडा धर्कामा एउटा तेस्राे लगाएर पाँच पुगाउन लागेका निर्वाचन अधिकृतले पुलुक्क मुखतिर हेरे। मुखामुख हुँदा पनि हाँस्न सकेनन्। जब कि यसअघि चियापसलमा भेट हुँदा दिल खाेलेर हाँस्ने उनीहरु नै हुन्। उनी 'वरिष्ठ' स्वतन्त्र पत्रकारिताकाे वकालत गर्थे। निर्वाचन अधिकृत एक हिसाबले उनकाे अनुयायी जस्तै थिए। शिल्पकलाले भरिएको उनको लेखनीकाे उनी कायल थिए।
मतगणना स्थलमा लगाइएकाे सुतलीकाे बारबाट वारपार भएका उनीहरुको तिक्तता दुई दिनअघि मात्र बढेकाे हो। कारण– १६ वर्षदेखि पत्रकारिता गरेका ती वरिष्ठको प्यानलबाट दलित तथा जनजाति काेटामा दुई जना उम्मेदवार उठाइएका थिए। तर प्यानलभित्रै कतिबेला गड्बडी भएछ। दलित तथा जनजाति काेटाबाट सजिलै पर्ने दुई उम्मेदवारहरुलाई सदस्य मात्र बनाइएछ।
उनीहरु दलित तथा जनजाति हुँदाहुँदै पनि खुलाका उम्मेदवार भए। खुलामा रहेका उनीहरुलाई निर्वाचन अधिकृतले समावेशी कोटाको उम्मेदवार बनाउन सकेन। निर्वाचन अधिकृतले आफै थाहा पाएर उनीहरुलाई समावेशी काेटामा राखिदिनु पर्दैन? यसमा उनको ठूलो आपत्ति थियो।
'डुम हावी भयाे। जान्ने पल्टियाे,' जंगल पसेकाे पार्टीका पत्रकार मानिने एकजनाले निर्वाचन अधिकृतलाई उनको अगाडी यसरी गाली गर्दा दौतरी मानिएका यी ‘वरिष्ठ’ पत्रकारले 'निर्वाचन अधिकृत सार्कीकाे छाेराे हाे। उसकाे थरलाई लिएर यस्ताे नभन' भन्न सकेनन्। माैन बसे।
निर्वाचन अधिकृत फेरि मुस्कुराए।
बालै भएन !
‘प्यानल’ मा बसेकाे पत्रकारबाटै भाेट नआएपछि उनकाे निष्कर्ष थियाे- ‘भाेट चाेरी भयो।’
भाेट चाेरी हुनु र पत्रकार कुनै बन्द काेठाकाे 'प्यानल' मा माेबाइल 'स्वीच अफ' गरेर बस्नु बडाे संगीन कुरा हो। तर अब यी कुरा एक सिक्काका दुई पाटा बनिसकेका छन्।
क्याँस कसम
निर्वाचन अधिकृतले छाेटाे समयमा तीन–चारवटा निर्वाचनको अनुभव बटुलिसकेका थिए। विगतदेखि हालसम्म निर्वाचनमा हुने अनेक तिक्डमकाे साक्षी पनि हुन उनी। त्यसकारण उनलाई थाहा छ- भाेट बढी भएर मात्र निर्वाचन जितिँदैन। यसका लागि प्राविधिक पाटो प्रमुख मानिन्छ।
आखिर के हो त प्राविधिक पाटो?
पहिलो प्राविधिक पाटो भनेको प्यानल हो। दोस्रो जागिर र पैसाको लाेभ लालच। तेस्रो आफन्त तथा नातागोताकाे सर्कल तथा चाैथो लफडावाजी। दाम, साम, दण्ड, भेद भएन भने निर्वाचनमा उठेर मात्र के गर्नु? जित्न मुस्किल पर्छ।
भाेट दिन पाउने अधिकारबाट बञ्चित बनाइएका पत्रकारलाई निर्वाचन अधिकृत बनाएपछि हालत के होला? सदस्यता नै खुस्काइदिनेहरुकाे मनमा शंका उब्जिनु स्वभाविक हाे। आफूले साेचेजस्ताे नभएपछि 'डुम' भन्नु अनाैठाे कुरा पनि भएन।
निर्वाचन अधिकृत पुन: मुस्कुराउँछन्।
बालै भएन!
चाेरी हुने भाेटमा कसमहरुको ठूलो भूमिका हुन्छ। लरतरो कसम खाएर हुँदैन, ठूलै खानुपर्छ। कसम खानु र गाई खानु उस्तै उस्तै हो। खासमा गाई खाने भन्नु पनि एउटा ठूलै कसम हाे, मार्क्सवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने हिन्दुवादी समाजका लागि।
कुनै पत्रकारले कसम खाएर भाेट दिन्छ भने कसकाे के लाग्छ र? उसै पनि बहुचर्चित नारा छ, 'विवेकपूर्ण मतदान'। उ पनि यो नाराबाट कहाँ टाढा थियो र।
बेचारा निर्वाचन अधिकृतले के नै गर्न सक्छन?
बालै भएन!
पतिपत्नी पत्रकार
पत्रकार (क) राम्राे समाचार लेख्छन्। पढेलेखेका छन्। तर प्रदेशमा बसेर एउटा जिल्लामा भएकाे घटनालाई मात्र फेसबुकको भित्तोमा रंगाउनु उनकाे दिनचर्या बनिसकेको छ। निर्वाचन नजिते देखा जायगाकाे भाषामा प्रस्तुत हुने उनकाे बानी छ।
निर्वाचन जित्न एउटा गज्जबकाे काइदा अपनाएका छन्। पत्नी पनि पत्रकार महासंघको सदस्य हुन्। संयाेग भनाैं उनको सालो पनि पत्रकार नै रहेछन्।
पत्रकार (ख) कि प्रेमिका 'लभ' परुन्जेल पत्रकार थिइन्। बिहेपछि पत्रकारितामा रहिनन् तर पनि उनको सदस्यता 'टु बि कन्टिन्यु' छ। निर्वाचन समेत जितेकी छिन्।
(ख) पत्रकारका भतिजा पनि पत्रकार महासंघका सदस्य छन्। तर पत्रकारितामा छैनन्। यसबाहेक उनी काम गर्ने अर्काे महासंघका सदस्य पनि पत्रकार महासंघकै सदस्य छन्। चुनाव जित्ने काइदा याेभन्दा अरु के हाेला?
‘सेलेक्टेड’ आफ्ना मान्छे सदस्य बनायाे। चुनावकाे बेला ‘प्यानल’ बनायो। भाेट हाल्न लगायाे। तर त्यहीँबाटै केही भाेट चाेरी हुँदा अनाैठाे किन मान्ने।
पत्रकार (ग) 'वरिष्ठ' हुन्। चाेरिएका मत गणना गर्ने उनै हुन्। मिठाे संयाेग के भने पत्रकार महासंघका अघिल्ला निर्वाचनमा पनि उनी अधिकृत थिए। त्यतिबेला निर्वाचन अवधिमा हाेहल्ला हुँदा 'कमरेडहरु एकछिन शान्त हुनुहाेस्' भनी सम्बोधन गर्थे।
उनकी पत्नी पनि पत्रकार हुन्। विगतमा कुन मिडियामा काम गरिन्? त्याे कसैलाई थाहा छैन तर माओवादी सशस्त्र द्वन्द्वमा अगाडी 'जन' बाट सुरु हुने रेडियाे र पत्रिकामा उनी कहीँकतै संलग्न थिइन्। यसर्थ उनलाई पत्रकार नमान्ने कुरै आएन। मिसन पत्रकारिताले जन्माइकी उनले व्यावसायिक पत्रकारिताकाे चुनावमा भाग लिने अवसर पाइन् र जितिन् पनि।
पत्रकार (घ) केन्द्रीय सदस्य समेत रहेका उनी खासै व्यवस्थित भएनन्। तर पद व्यवस्थापनमा चुस्त छन्। त्यसैले चुनाव सधैँभरि जितिरहन पत्नीलाई साधारण सदस्य दिलाए पनि जागिर दिलाउन सकेनन्। समाचार लेख्ने विषयमा कहिल्यै ध्यान दिएनन्।
यसैगरी (ङ), (च), (छ) पनि पतिपत्नि पत्रकार छन्। पतिपत्नी पत्रकार हुनु नै भाेट चाेरी नहुनु हाे। कृपया भाेट चाेरी हुन नदिऊँ। यस्ता कुरा मनन् गर्दै जाऊँ। पति पत्रकार बनाैँ। पत्नी त्यसै पनि पत्रकार्नी। मास्टर कि पत्नि मास्टर्नी भएजस्तै। कृपया मास्टरकाे चुनावमा मास्टर्नीलाई पनि सदस्यता दिइयोस्। मताधिकार दिइयोस्।