गब्बर सिंह जिउँदैछ

पहिलो पटक भैरहवास्थित पंचरत्न सिनेमा हलको पर्दामा गब्बर सिंहलाई देख्दा म तर्सिएको थिएँ।

रमेश सिप्पी निर्मित चलचित्र ‘सोले’ पहिलो पटक हेर्दाको प्रसँग हो। पुरै पर्दा समेटीने गरी जब गब्बर सिंहको मुहारको क्लोजअप सट देखाइन्थ्यो, लाग्थ्यो कुनै हिँस्रक बाघ छेउमै दहाडीरहेको छ। 

भर्खर १२/१३ वर्षको उमेर। गोजीमा दाम हुँदैनथ्यो। हलका गेटपाले टोलकै चिनेजानेका। ‘पिक्चर चालु’ भइसकेपछि उनी भुराभुरीलाई फ्रन्ट बेन्चमा फोकटमा छिराउँथे, किनकी तेश्रो श्रेणी सँधै खाली हुन्थ्यो। खाली हुनुको कारण, पर्दा निकै नजिक हुन्थ्यो र टाउको सिधा माथि तेर्साएर चलचित्र हेर्नुपर्थ्याे। त्यहाँ देहाततिरका गरीब केटाकेटी, रिक्सा चालक, कुल्ली, मजदुरहरु बढी हुन्थे। अनि हुनेखाने बर्गका दर्शक चाहिँ विशिष्ट श्रेणी या बालकोनीमा। 

कालान्तरमा हलहरुमा 'ड्रेस सर्कल', 'क्याबिन'को पनि व्यवस्था भयो। अहिले त दुबै कानमा फरक फरक साउन्ड ट्रयाक गुञ्जने डल्बी साउण्डवाला मल्टीप्लेक्स हलको जमाना छ। 

खैर, हाम्रो पालामा फ्रन्ट बेन्चमा भुराभुरी सिटी बजाउँथे, होहल्ला गर्थे। गाना आएको बेलामा उफ्रेर नाच्न पनि पछि पर्दैनथे। अनि पछाडिका दर्शक कराउँथे, ‘ए छेक्क्यिो छेक्कियो।’



राक्षस र मान्छेबीच भिडन्तको कथा



‘हान हान, नछोड’, ठाकुर (सँजीवकुमारं)ले क्लाइमेक्समा गब्बर सिंहको हात कुल्चदा म पनि यसैगरी चिच्याएको थिएँ। अनि जय (अमिताभ बच्चन) मर्दा मेरा आँखा रसाएका थिए। 

केही वर्षपछि ‘सोले’ गोरखपुरको टाकिजमा गएर हेरियो, जतिबेला म १५ वर्षको थिएँ। अब चाहिँ कथा बुझ्ने भइसकेको थिएँ। चलचित्र भनेको कलाकारहरुको अभिनय मात्र हो, यथार्थ हैन भन्ने पनि बोध भइसकेको थियो। दोश्रो पटक हेर्दा गब्बर सिंह देखेर पटक्कै डराइन, बरु उनको अभिनयको रोमांचको लुफ्त उठाएँ। 

गब्बर सिंह झूठ बोल्दैन

अब जाउँ, तेश्रो पटक ‘सोले’ हेर्दाको किस्सातर्फ। त्यसैताक भैरहवाको गल्लामण्डीतिर एकजना ठयाक्कै गब्बर सिंहजस्तै देखिने दाजु थिए। प्याट्ट भुँडी निस्कीएका, अर्ध कदका उनी कुनै मोटर ग्यारेजमा काम गर्थे। हामी भुराभुरी उनलाई गब्बर दाई भन्थ्यौं। 

महेन्द्र सुगर मिलतर्फ चिनी या उँखु चोर्न जाँदा हामीलाई देख्नासाथ गब्बर दाई सोध्थे, ‘कति मान्छे थिए ?’

म भन्थें, ‘सरदार जम्मा दुइजना’

पेन्चीस हातमा घुमाउँदै उनी भन्थे, ‘सुँगुरका छाउरा हो, उनीहरु दुइजना, तिमीहरु चाहिँ तिन ? तैपनि लुरुक्क परेर फर्केर आयौ, खाली हात। के ठानेर आएका थियौ ? कि सरदार बहुतै खुशी हुनेछ, स्याबासी दिनेछ ? कुल्फी खिलाउने छ ? फुलकी खिलाउनेछ ? पवन मिष्ठान भण्डारको पेडा खिलाउनेछ ? धिक्कार छ। हैन हौ साम्भा, कति पुरस्कार राखेको छ सरकारले मेरो लागि ?’

म भन्थें, ‘पुरै पचास हजार सरदार।’

गब्बर दाई स्टाइल झिकेर भन्थे, ‘सुन्यौं, पुरै पचास हजार, अनि यो पुरस्कार किन थाहा छ ? किनकी, यहाँबाट पचास–पचास कोस टाढा गाउँमा जब बच्चा रुन्छ, तब आमा भन्छीन्, सुत् छोरा, नत्र गब्बर आउँछ।’

कहिलेकाँही ग्यारेजमा जाँदा गब्बर दाई ‘मेहबुबा मेहबुबा’ गीत घन्काइरहेका हुन्थे, हामी नाच्दै जान्थ्यौं। गब्बर दाई हामीलाई कुल्फी, त्यो पनि मलाइवाला खिलाएर पठाउँथे। दिलदार थिए, गब्बर दाई।



पहिलो डेउडा गायक



भारतभरीका हलहरुमा बारम्बार प्रदर्शन भएर घुम्दै फिर्र्दै फेरी ‘सोले’ नौतनहवाको हलमा लाग्यो। म त्यतिखेर एसएलसीको तयारी गर्दै थिएँ। हामी बुटवल बसाइसराइ गरिसकेका थियौं। एक दिन गब्बर दाइ बुटवलमा भेट भए। उनले भने, ‘अरे ओ साम्भा, सोले हेर्न जाउँ, नौतनहवा। मेरो गाडी छ।’

गब्बर दाई तिनताक बुटवल सुनौली चल्ने लोकल बसमा कन्डक्टर भइसकेका थिए। उनले आफ्नै बसमा राखे, बाटोमा मुरई(भुजा) र भेली मात्र हैन, नरिवल राखेको बरफ खिलाउँदै नौतनहवा लगे। टाकिजको नाम मलाई सम्झना भएन, तर बोर्डको पोस्टरमा अमीताभ र धर्मेन्द्रको भन्दा बडेमानको तस्वीर गब्बर सिंहकै थियो।

तीनदेखि छ बजेसम्मको शो (तिनताक चलचित्र प्रायः तिन घन्टाका हुन्थे) हेरियो। चलचित्र हेरेर हल बाहिर निस्कदा केही दर्शक गब्बर दाइलाई देखेर झस्कीए। अमजद खान नै आएका हुन् कि झैं गरेर नजिक आएर घुरेर हेर्ने पनि कम थिएनन्। अझ गब्बर दाई हाँस्दा त उही ‘सोले’कै गब्बर हाँसे झैं देखिन्थ्यो। 

हलका एकजना स्टाफ आएर भने, ‘अमजद साहब, आप यहाँ ?’

‘नही नही, मे गब्बर नही हुँ, हम लोग भैरहवा से आए है पिक्चर देखने’, गब्बर दाइले भने। 

‘नही आप झूठ बोल रहे हैं, आप जरुर गब्बर सिंह ही है’, स्टाफले भने। 

‘तब तो सौ फिसदी मै गब्बर नही हुँ, क्यों कि गब्बर सिंह झूठ नही बोलता’, गब्बर दाईले भने। 

हामी रफुचक्कर भयौं, समोसा चाट खाएर सुनौली फर्कियौं, साँझ बुटवलतर्फको नम्बर लागिरहेको थियो, गब्बर दाइको बसको। 

‘सोले’को शान, गब्बर 

एलएसली पास गरेर आरआर कलेजमा भर्ना हुँदा (२०४६) ताका काठमाडौंमा भिडियोको खुबै प्रचलन थियो। भिसिआर डेकमार्फत मखनको गल्लीतिर विभिन्न चलचित्र देखाइन्थ्यो।

‘खुनी हवेली, खतरा हरर फिलीम, एकजनाको चार रुपैयाँ’
‘रामतेरी गंगा मैली, मन्दाकिनीको खतरा सिन भएको, एकजनाको पाँच रुपैयाँ’
‘सोले, गब्बर सिंहको खतरा सोले, एकजनाको चार रुपैयाँ’

मखनको गल्लीमा केही केटाहरु यसै भनिरहेका थिए। कलेज भर्ना भए पनि पढाई सुरु भइसकेको थिएन। हामी केही केटाहरु इन्द्रचोकतिर ममचाः खान जाने क्रममा मखनतिर छिरेका थियौं। 



प्राचीनकालको हिन्दु धर्म, के आजभन्दा बेग्लै थियो?



सानैदेखि सिनेमाको किरो। कलेज पढने भइसकेको, अब अली बुझ्ने उमेरमा फेरी एक पटक ‘सोले’ हेर्नुपर्याे भनेर हामीले प्रचारक भाइसँग सम्पर्क राख्यौं। उनले हामी चार-पाँच जना केटाहरुलाई करीब पाँच मिनेट हिँडाएर निहुरीनुपर्ने गल्ली हुँदै एउटा थोत्रो न थोत्रो टहरोजस्तो घरभित्र छिरायो, जहाँ पुग्दा भिडियो चालु भइसकेको रहेछ। भिडियोमा गब्बर सिंह जेलबाट भागिसकेको थियो। 

जे होस्, झुरुप्प पलेटी मारेर बसेका दर्शककै कुनामा घुस्रेर त्योबेला ‘सोले’ हेर्दाको मजा, त्यसअघिको भन्दा भिन्न थियो।  

कुरकुरे वैंश लागिसकेको थियो। अतः अमिताभ र जया बच्चनको अव्यक्त प्रेमको करुण सिन बुझीयो। चलचित्रभित्र समेटीएका ति सारा संवेदनात्मक पक्षको केही हदसम्म बोध भयो, जुन केटाकेटीमा हेर्दा बुझीएको थिएन। अनि मलाई लाग्यो, चलचित्र एउटा हुँदोरहेछ, तर त्यसलाई हेर्ने दर्शक अनेक, दर्शकको उमेर र चेतना अलग हुँदोरहेछ। 

अब चाहिँ सोलेका बारेमा प्राज्ञिक बहस पनि हुन थाल्यो। नयाँ सडकको सन्देश गृहमा ‘मायापुरी’ पत्रिका आइरहन्थ्यो र म बेलाबेलामा ‘मायापुरी’ किनेर पढथें। ‘फिल्मफेयर’ अली महँगो हुने भएकाले हाम्रो ल्याकतले भ्याँउदैनथ्यो।

एक पटक ‘मायापुरी’मा गब्बर सिंहका बारेमा लामो लेख प्रकाशित भएको पाएँ। फटाफट किने। मलाइ सम्झना छ, ‘और अमजद खान बन गए, गब्बर सिंह’ शिर्षकको त्यो सामाग्रीमा कसरी अमजद खानले गब्बर सिंहको भूमिका पाए भन्नेबारे लेखिएको थियो। गब्बरको भूमिकाले मलाई कुन हदसम्म आकर्षित गरिसकेको थियो भने मैले एक एक लाइन स्मरण हुने गरी त्यो सामाग्री पढें।

गब्बर सिंहको भूमिका नै कति दमदार थियो भने, कलाकारको खोजी हुँदा त्यो जमानाका शिखर अभिनेता अमिताभ बच्चन र धर्मेन्द्रलेसमेत गब्बर सिंहको रोल मागेका थिए। धर्मेन्द्रले त ‘सोले’का कथाकार सलीम जावेदमार्फत निर्माता रमेश सिप्पीलाई मनाउने निकै कोशीस गरेका थिए। ठाकुरको भूमिका निर्वाह गरेका सँजीव कुमार पनि गब्बरको भूमिकामा खेल्न इच्छुक थिए। तर, निर्माता सिप्पीको रोजाई डेनी डेन्जोङ्पा थिए, जो त्योबेला बलिउडमा चर्चित भइसकेका थिए। तर, डेनीले गब्बरको भूमिकामा अभिनय गर्न मानेनन्। अन्ततः कथाकार सलीम जावेदले अमजद खानको नाम सुझाए। दुबला पातला अमजदलाई सुरुमा त निर्माता सिप्पीले स्वीकारेनन्, तर अमजदले भनेछन्, ‘मलाई एकपटक मौका दिनुस्, म आफ्नो भूमिकामा न्याय गर्नेछु।’



‘उहाँ’ को होला?



निर्माता सिप्पीले अमजदलाई एक महिनाभित्र आफ्नो तौल बढाएर आउन आग्रह गरे। नभन्दै हर सम्भव कोशीस गरेर अमजदले आफ्नो तौल बढाए। एक महिनापछिको अडिशनमा उनी छानिए, गब्बर सिंहका लागि। जसै चलचित्र प्रर्दशनमा आयो, खलनायक गब्बरले नै अन्य सारा कलाकारको भूमिका ओझेलमा पारिदिए। हिन्दी चलचित्रमा खलनायक हावी भएका निकै कम चलचित्रमध्ये ‘सोले’नम्बर एकमा पर्छ।

गबरा उर्फ गब्बर 

केही वर्षअघि दिल्लीको जामीया मिलिया स्लामीया विश्व विद्यालयमा मास कम्युनिकेशनको पन्ध्र दिने तालिमका लागि जाँदा आगरास्थित ताजमहल घुम्न गएको थिएँ। नेपाल र भुटानका पत्रकारहरुको टिमलाई ‘बबी’ नामका गाइडले ताजमहल घुमाएका थिए। करीब एक घन्टाको भ्रमणका क्रममा मुगल सम्राट अकबरको दरबार पनि घुमीयो। 

बबी गाइडसँग मेरो दोस्ती भइसकेको थियो। उनी बडा रसिक थिए। ताजमहल घुम्न आएका युवति देख्नासाथ सुस्तरी ‘मेहबुबा मेहबुबा’ गुनगुनाउँथे। 
‘यो त सोलेमा गब्बर सिंहले गाएको गीत हैन ?’, मैले सोधें। 

‘सोले पिक्चरको बडा हिट गीत हो, माइ फेबरेट सङ’ बिचबिचमा अंग्रेजी शब्द घुसाउँदै उनले बडा चुस्त पारामा भने। 

बबी गाइडसँग मैले सोधें, ‘सोले कति पटक हेरीयो त ?’

उनले भने, ‘हेरें हुँला सात पटक’

बबि गाइडले बताए अनुसार गब्बर सिंहको भूमिका खासमा चम्बलको घाटी (बिहड)मा सन् १९५० तिर तहल्का मच्चाएका डाँकु गबरा सिंह उर्फ गब्बरको कथाका आधारमा बनाइएको हो। गबरा सिंहका नाममा प्रहरीले पचास हजार रुपैयाँ पुरस्कार राखेको थियो। 

‘असली गब्बर सिंहले धेरै मान्छेको नाक काटेको थियो’, बबी गाइडले भने। 



किन भारतले निजगढ एयरपोर्ट बन्न दिन्न?



असली गब्बर सिंहलाई एकजना तान्त्रिकले के सल्लाह दिएका रहेछन् भने आफ्नो कुलदेवीलाई ११६ जनाको नाकको भेटी चढाएमा उनले कसैको पनि गोली खाएर मर्नुपर्नेछैन। तान्त्रीककै सल्लाह अनुसार गब्बरले दुइ दर्जन व्यक्तिको नाक काटीसकेका थिए। तर, चलचित्र ‘सोले’का गब्बरले कसैको नाक काटेको देखाइएको छैन। 

सन् पचासको दशकमा मध्यप्रदेशमा प्रहरी महानिरिक्षक रहेका केएफ रुस्तमको डायरीमा ति असली गब्बरका अनेक प्रसँग समेटीएको रहेछ। उनकै डायरीलाई पूर्व आइपिएस अधिकारी पीवी राजगोपालले पुस्तकको रुप दिए, ‘द ब्रिटिश, द बैंडिट्स एन्ड द बोर्डरम्यान’। 

‘सोले’का लेखक सलीम जावेदका पिता मध्यप्रदेशमा प्रहरी अधिकारीका रुपमा कार्यरत रहीसकेकाले उनलाई चम्बलका डाँकु र असली गब्बरका बारेमा केही हदसम्म थाहा थियो। तर, उनले चलचित्रमा असली गब्बरको कथालाई हुबहु उतारेनन्, त्यसका केही विम्बलाई समेटे। 

असली गब्बरको कहानी 

बिहडको डाङ्ग गाउँमा सन् १९२६ मा जन्मीएका गबरा सिंह उर्फ गब्बरले तन्नेरी भएपछि गाउँ छाडे। सायद बदलाको भावले हुनसक्छ, उनी डाँकु कल्याण सिंह गूजरको समूहमा आवद्ध भए। केही समयपछि गब्बरको आफ्नै समूह बन्यो। 

भारतमा त्यसबेला जवाहरलाल नेहरु प्रधानमन्त्री थिए। उनको समेत चिन्ताको विषय थियो, चम्बलको घाटीमा गब्बरलगायत डाँकुहरुका १६ वटा खतरनाक समूह। दिनहुँ डाँकुसँगको भिडन्तमा प्रहरी मारिएका खबर आइरहन्थे।

सन् १९५९ मा प्रहरी अधिकारी राजेन्द्र प्रसाद मोदीको नेतृत्वको टोली गब्बर सिंहलाई समाप्त पार्ने अभियानमा जुट्यो। रुस्तमको डायरीमा उल्लेख भए अनुसार रामचरण नाम गरेका एक गाउँलेले गब्बर सिंहको अखाडाबारे प्रहरी अधिकारी मोदीलाई जानकारी दिए। १३ नोभेम्बर साँझपख प्रहरीसँग भएको भिषण भिडन्तमा ग्रिनेड लागेर गब्बर मारिए। 

असली हुन् या चलचित्रका गब्बर, अहिले पनि उनी जिवितै छन्। दर्शकको स्मृतीमा, चलचित्रको इतिहासमा अनि किंवदन्तीहरुमा। 



धरहरा, कोलकाताको ‘शहिद मिनार’ र भारतीय मानसिकता



आखिर गब्बर सिंह किन डाँकु बन्यो ? के उ बास्तवमै खराब थियो ? यसबारेमा न त रुस्तमको डायरीमा केही लेखिएको छ, न त रमेश सिप्पीको चलचित्रमा केही खुलाइएको छ। 

आखिर कोही किन डाँकु हुन्छ ? आखिर कोही किन खलनायक हुन्छ ? यसको उत्तर स्पष्ट नभएसम्म गब्बर सिंहको व्यक्तित्वको पूर्ण तस्वीर पनि स्पष्ट हुँदैन। यस हिसाबले ‘सोले’का गब्बर खलनायक भएर पनि नायक भएका छन्। उनको ‘क्रूरताको दृश्य’ लोकप्रिय भएको छ। 

विश्व चलचित्र इतिहासमा ‘सोले’ झैं सदा बाँचीरहनेछन्, गब्बर सिंह।

प्रकाशित मिति: : 2021-04-11 14:55:00

प्रतिकृया दिनुहोस्