सर्वोच्च अदालतको निर्णयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएपछि एमालेतर्फ लागेका माओवादी केन्द्रका चार जना प्रतिनिधिसभा सदस्यहरुको संघीय सांसद पद समाप्त भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बिहीबारको बैठकमा चार जनाले दल त्याग गरेकाले संसद पद समाप्त भएको जानकारी दिएका हुन्।
प्रतिनिधिसभा सदस्यहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद समाप्त भएको हो। चारै जना ०७४ सालको निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन्।
रायमाझीले अर्घाखाँचीबाट चुनाव जितेका थिए भने भट्ट कैलाली–३, चौधरीले कैलाली–४ बाट निर्वाचित भएका थिए। साह रौतहट–३ बाट निर्वाचित भएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान सरकारमा टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री छन् भने लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री। त्यसै गरी प्रभु साह सहरी विकास र गौरीशंकर चौधरी श्रम , रोजगार, तथा सामाजिक सुरक्षामन्त्री छन्।
सांसद पद समाप्त भए पनि अब छ महिनासम्म मन्त्री रहिरहन पाउने छन्। छ महिनाभित्र संघीय संसदकाे सदस्य नभएमा भने यो प्रतिनिधिसभाको कार्यकालभरि मन्त्री हुन पाउने छैनन्।
रिक्त सांसद पदमा छ महिनाभित्र चुनावको घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ। छ महिनाभित्रै मध्यावधि चुनाव घोषणा हुनसक्ने संभावना भएकाले उपचुनावको संभावना भने कमै मात्र रहेको छ।
माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमालेतिर लागेका मन्त्रीहरु रायमाझी, भट्ट, साह र चौधरीले पार्टी परित्याग गरेको जानकारी संसद सचिवालयलाई दिएका थिए।
प्रतिनिधिसभाको चलिरहेको समयमा पत्राचार गरिएकाले त्यसबारे सभामुखले सभालाई जानकारी गराउनुपर्ने कानूनी व्यवस्था छ।
प्रतिनिधिसभा सदस्यको पद समाप्त गरे पनि राष्टियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा 'बादल' लाई भने माओवादीले सांसदबाट हटाउन पत्र पठाएको छैन।
प्रधानमन्त्री फेर्ने प्रयासमा लागिरहेको माओवादीले त्यसको सजिलोका लागि प्रतिनिधिसभा सदस्यको पद रिक्त बनाएको सहजै अनुमान गर्न सकिन्छ।
याे पनि..