पूर्वराजा ज्ञानेन्द्र शाह भारत सरकारले पठाएको निम्तो स्वीकार गर्दै भारतीय राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्। प्रत्येक १२–१२ वर्षमा लाग्ने प्रख्यात कुम्भमेलामा शाहीस्नानका लागि उनी भारत प्रस्थान गरेका हुन्।
पूर्वराजा ज्ञानेन्द्र पूर्वरानी काेमल शाहसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान नयाँदिल्लीतर्फ प्रस्थान गरेका हुन्। दिल्लीबाट उनी शुक्रबार हुने शाहीस्नानका लागि हरिद्वारतर्फ प्रस्थान गर्ने छन्। हरिद्वारकाे गंगा नदीमा स्नान गर्ने कार्यक्रम रहेको छ।
पूर्वराजा ज्ञानेन्द्रको लागि भारतको केन्द्र सरकार, उत्तरप्रदेश तथा उत्तराखण्ड सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ।
कोरोनाको महामारीबीच शाहीस्नानको लागि भारत प्रस्थान गर्नुअघि पूर्वराजा ज्ञानेन्द्रले कोराना परीक्षण गराएका थिए, जसमा रिर्पोट नेगेटिभ आएको थियो।
उनलाई शाहीस्नानको लागि उत्तराखण्डका मुख्यमन्त्रीले स्वागत गर्ने कार्यक्रम रहेको छ। सो अवसरमा केदारनाथका पिठाधीश र विभिन्न सन्त तथा महन्तका साथै सत्तारुढ भारतीय जनता पार्टीसँग आबद्ध आरएसएसका पदाधिकारीको पनि उपस्थिति रहने बताइएको छ।