सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ।
पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना जारी गर्दै रात्रिकालीन व्यवसायहरु राति ९ बजेपछि बन्द गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो।
संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयले आग्रह गरेको छ।
ठूला सहरहरुमा ५ सय र साना सहरहरुमा १ सयभन्दा बढी सक्रिय संक्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न समेत निर्देशन दिएको छ।
मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यस्तैगरी बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।