बागमती प्रदेशसभा बैठक अवरुद्ध

फाइल तस्वीर
फाइल तस्वीर

बागमती प्रदेशसभा बैठक आज पनि अवरुद्ध भएको छ।

पटक पटक सूचना टाँस गरेर स्थगित हुँदै आएको बागमती प्रदेश सभको बैठक ७४ दिनपछि चैत २४ गते मंगलबार बसेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले चैत २४ गतेको प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो।

बुधबारको लागि बैठक बस्ने गरी स्थगित भएको बागमती प्रदेशको बैठक नेकपा माओवादी केन्द्रले पुनः अवरुद्ध गरेको छ।

आजको बैठकमा मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको प्रस्तावक अरुणकुमार नेपाल उपस्थित नभएपछि समर्थकको सहमतिबिनै सत्तारुढ दलका सदस्य कृष्णप्रसाद भूर्तेलले अविश्वास प्रस्ताव फिर्ता लिने सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए।

अविश्वास प्रस्ताव फिर्ता लिने सम्बन्धी प्रस्ताव पेश गरेलगत्तै माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेले सो प्रस्तावमाथि बैठकमा छलफल नगराइयोस् भनी बारम्बार माग गरेका थिए। मागसँगै माओवादीले बैठक नै अवरुद्ध गरेको हो।

प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार माओवादीको अवरोधकै कारण आजको प्रदेशसभा बैठक स्थगित गरिएको हो।

प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजेको लागि तय भएको उनले बताए।

प्रकाशित मिति: : 2021-04-07 17:59:00

प्रतिकृया दिनुहोस्