पूर्वी मोरङको उर्लाबारी नगरपालिका ७२ दशमलव ६२ वर्ग मिटरमा फैलिएको छ।
राज्य पुनर्संरचनाका क्रममा साविकको उर्लाबारी गाविससँग राजघाट गाविस र मधुमल्ला गाविसका ३ वटा वडा (वडा नं ७, ८ र ९) समाहित भएर २०७३ फागुन २७ गते हालको उर्लाबारी नगरपालिका गठन भएको हो। उर्लाबारी पूर्व पश्चिम राजमार्गसँगै जोडिएको तीव्र शहरीकरण हुँदै गरेको नगरपालिका हो।
साविकको उर्लाबारीलाई मात्र लाई हेर्ने हो भने, उर्लाबारीलाई घना आवादी भएको शहर भन्न सकिन्छ। राज्य पुनर्संरचना पछि उर्लाबारीको स्वरुप र विविधतामा परिवर्तन आएको छ।
५० को दशकमा सुरु भएको जनयुद्धले उर्लाबारीलाई आवास क्षेत्रमा रुपान्तरण ग-यो। सुरक्षित आवास क्षेत्र मानेर मोरङका उत्तरी गाउँ र दक्षिणी गाउँबाट उर्लाबारीमा बसाई आउने क्रम बढ्यो।
जसले गर्दा यस क्षेत्रको उर्भर खेती योग्य जमिन प्लटिङ हुँदै कङ्क्रिटको जङ्गलमा रुपान्तरण भएको छ। २०५१ देखि २०७० सम्म आइपुग्दा शिक्षा, स्वास्थ्य, जनसङ्ख्या, आर्थिक विकास, मतदाता सङ्ख्या र पुर्वाधार निर्माणका आधारमा हेर्दा उर्लाबारी मोरङ जिल्लाकै दोस्रो ठूलो गाविसका रुपमा परिणत भयो। तर, पुर्नसंरचनाका क्रममा दुई वटा नगरपालिका समाहित भएर नयाँ नगरपालिका बनेपछि उर्लाबारी नगरपालिकाले दोस्रो ठूलो हैसियत गुमाएको छ।
उर्लाबारी नगरमा कृषि क्षेत्रको अवस्था:
मधुमल्लाका ३ वटा वडा र सिंगो राजघाट गाविस उर्लाबारीमा समाहित भएपछि नगरको परिचय बदलिँदै गएको छ। आवासयुक्त औद्योगिक शहर बन्न लागेको उर्लाबारीमा ठूलो कृषि योग्य क्षेत्र मिसिएपछि अब नगरले कृषि क्षेत्रमै सम्भावना खोज्नु पर्ने देखिन्छ।
साविकमा २७ दशमलव ७५ वर्गमिटरमा फैलिएको उर्लाबारीको भूगोल दोब्बर भन्दा बढी थपिएको छ। जति क्षेत्रफल थपिएको छ। त्यो सबै कृषि क्षेत्र रहेको छ। जहाँ उर्लाबारी नगरले कृषि उत्पादन वृद्धि गरेर नगरको परनिर्भरता अन्त्य गर्नुपर्ने छ।
राजघाटको ३३ दशमलव ४६ वर्गमिटर क्षेत्रफल र मधुमल्लाको ११ दशमलव ४१ वर्गमिटर क्षेत्रफल कृषि उत्पादनका लागि अब्बल मानिन्छ। वडा नंं. १ को सबैभाग धान, गहुँ ,तोरी कोदो, मकै उत्पादनका लागि उपयुक्त छ। उता वडा नंं.८ र ९ कृषि उत्पादनका लागि सम्भावना बोकेका क्षेत्र हुन्।
तीन वटा आर्थिक वर्षको नगरको बजेट हेर्ने हो भने कृषि क्षेत्रमा नगरको लगानी हरेक वर्ष बढिरहेको छ। थोरै क्षेत्रमा धेरै उत्पादन गर्न नगरले प्रविधि मैत्री खेती कार्यक्रम बिस्तार गरेको छ।
उत्पादकत्व वृद्धिमा यस्ता कार्यक्रम प्रभावकारी हुने भएको स्वयं किसानको भनाई छ। नगरले वडा नंं.१, ८ र ९ मा चैते धान बीउ वृद्धि कार्यक्रम सञ्चालन गरेको छ।
सरकारी अनुदानमा गरिएका यस्ता कार्यक्रमले किसानमा उत्पादन बढाउनु पर्छ भन्ने भावनाको विकास भएको छ। एकातिर कृषि उत्पादनले पनि घर खेत जोड्न सकिन्छ भन्ने सोचको विकास भएको छ भने अर्काे तर्फ कृषि पेशाबाट विमुख हुँदै गएको युवा शक्ति कृषि पेशामा फर्किएका छन्।
कृषि क्षेत्रमा नगरको बजेट
उर्लाबारी नगरपालिकाले पछिल्ला ३ वर्षमा कृषि क्षेत्रमा आश लाग्दा काम गरेको छ। नगरले ब्यावसायिक उत्पादन वृद्धिमा लागेका किसानको माग अनुसार नै अनुदान र सहयोग उपलब्ध गराएको छ।
नगरका कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइटेलका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ७० लाख रुपैयाँ बजेट कृषि क्षेत्रमा छुट्याएको थियो। आर्थिक वर्ष ०७६/०७७ मा बजेट १० लाख रुपैयाँ बढाएर ८० लाख रुपैयाँ पु-यायो।
त्यस्तै चालु आर्थिक वर्षमा कृषि क्षेत्रको बजेट १ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षमा वडा कार्यालयले समेत ४६ लाख १० हजार रुपैयाँ विनियोजन गरी किसानलाई र कृषि उत्पादन बृद्धिमा सहभागि गराइरहेका छन्।
यो बजेट पनि अघिल्ला आर्थिक वर्षको तुलनामा केही बढी हो। निर्वाहमूखी खेती गर्ने किसानलाई थोरै जग्गामा पनि बढी उत्पादन लिन प्रेरित गर्ने र उनीहरूलाई मल, बीउ र आवश्यक पर्ने उपकरण सहयोगमा बजेट खर्च हुने गरेको छ।
कृषि शाखा प्रमुख लुइटेल थप्छन्–बजेटको सिमितताले अझै धेरै काम गर्न सकिएको छैन। उनले ५ वर्ष भित्रमा नगरभित्र कृषि कर्म गर्ने सबैखाले किसानलाई कुनै न कुनै अनुदान, सहयोगमा जोड्ने लक्ष्य रहेको बताए।
३ वर्षे वजेटबाट हालसम्म झण्डै १ हजार किसान नगरका कृषि कार्यक्रमसँग प्रत्यक्ष रुपमा जोडिएको लुइटेलको भनाई छ। नगरले किसानलाई पावर टिलर २५ थान, मिनी पावर टिलर ५ थान, पानी तान्ने मोटर्स ३४५ थान, विषादी छर्ने स्प्रेयर ३१८ थान, मकै रोप्ने मेसिन १९ थान, थान रोप्ने मेसिन १ थान, मकै छोडाउने मेसिन ४३ थान र फुट स्प्रेयर ५ थान वितरण गरिसकेको छ।
यस्तै मौरी उत्पादक किसानका लाई ३ लाख रुपैयाँको मह प्रशोधन यन्त्र ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ। च्याउ किसानलाई नगरले २ लाख ४५ हजार मूल्यको पराल काट्ने यन्त्र समेत उपलब्ध गराएको छ। त्यति मात्र होइन, प्रदेश सरकारले उर्लाबारीका च्याउ उत्पादक किसानलाई च्याउको बजारीकरणका लागि २ थान गाडी प्रदान गरेको छ।
उत्पादन हुन्छ, बिक्री हुँदैन
किसानलाई तीनै तहका सरकारले उत्पादन वृद्धिका लागि सहयोग गरेका छन्। संघीय, प्रदेश र स्थानीय सरकारले एकै खाले कार्यक्रम ल्याउँदा किसानहरू भने अलमलमा पर्ने गरेका छन्।
तीनै तहका सरकारले मल, बीउ, विषादी र प्रविधिमा अनुदान दिए पनि उत्पादन भएको तरकारी , धान, मकै र गहुँ कौडीको मूल्यमा बिक्री गर्न किसान बाध्यछन्।
नेपाली किसानले उत्पादन गरेको कृषि उपज भन्दा भारतीय उत्पादन सस्तो भएर बजारमा आउने गरेको छ। यो नै नेपाली किसानका लागि ठूलो रोग भएको छ। पाठशाला कृषि सहकारी संस्था उर्लाबारी– ६ का अध्यक्ष दुर्गाप्रसाद खतिवडा भन्छन्– नेपाली किसानले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैनन्।
उनले आफ्नो सहकारीले उत्पादन गरेको ७ लाख मूल्य बराबरको टमाटर कुहिएर बारीमै नाश भएको बताए। तरकारी मात्र होइन। प्रदेश सरकारको अनुदान प्राप्त गर्ने आशामा चैते धान बिस्तार कार्यक्रम अन्तरगत धान फलाउने किसानले अनुदान पाउन ५ महिना पर्खनु प-यो।
उर्लाबारी–८ का किसानले आर्थिक वर्ष ०७५/०७६मा सरकारी लक्ष्य भन्दा बढी चैते धान उत्पादन गरे वापत प्रति हेक्टर १० हजार रुपैयाँ नगद अनुदान पाएका थिए। तर, गत वर्ष कोभिडको कारण देखाएर कृषि ज्ञान केन्द्रले उक्त कार्यक्रम नै हटायो। किसानले १ सय हेक्टरमा १ हजार ५ सय क्विन्टल धान उत्पादन गरेर बिक्री गरेका थिए।
उक्त वर्ष उर्लाबारी–८ को खैरेनी टोल, गंगटे, सखुवानी, रातेटोल र कालीथान टोलका ७५ जना किसानले सय हेक्टरमा हर्दिनाथ जातको धान लगाएका थिए।
धान प्रसस्त उत्पादन भएपनि प्रति मन ६ सयका दरले बिक्री गर्न बाध्य किसानहरू सरकारले धान किनी दिने ब्यवस्था गरिदिए उत्पादन अझ वृद्धि गर्न सकिने बताउँछन्।
चैते धान उत्पादक किसान विष्णुप्रसाद निरौलाले भने–सरकारले अनुदान दिएकोले खर्च उठ्यो। प्रतिमन १ हजार रुपैयाँ भन्दा घटीमा धान बिक्री गर्दा घाटा हुने निरौलाको भनाई छ। उक्त कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र सुनसरीले ७५ जना किसानलाई ५ लाख २ हजार ४ सय रुपैयाँ अनुदान दिएको थियो।
मह उत्पादक किसान अझ ठूलो मार्कामा पर्ने गरेका छन्। दुई वर्षअघि मह नबिकेर हैरान भएका उर्लाबारी–३ का किसानले मौरीलाई नै मह खुवाउनु पर्ने बाध्यता भयो। मौरीपालक किसान रमेश खड्काले भने–उत्पादन धेरै भयो। बजार छैन्। स्थानीय, प्रदेश र संघीय सरकारसँग बजारीकरणका लागि सहयोग मागेका छौं। तर, सहयोग भएको छैन।
छैन कृषि बजार
उर्लाबारी नगरपालिकाको पाश्र्वचित्र २०७६ अनुसार नगरको जनसङ्ख्या ७० हजार ६०५ रहेको छ। जसमध्ये झण्डै ७० प्रतिशत जनसङ्ख्या किनी खाने रहेको छ।
शहरमा करेसाबारी, कौशी खेतीको अभ्यास भएको छ। तर, त्यो सामाजिक सञ्जालबाट प्रचार गर्न मात्र भएको देखिन्छ। कहिल्यै तरकारी बारी नछिर्ने, गोडमेल नगर्ने उच्च सामाजिक हैसियत बनाएकाहरू कौसी खेतीमा जोडिएका छन्। यद्यपी त्यस प्रकारको खेतीबाट उत्पादनमा कुनै सहयोग नपुगेको कृषि प्राविधिकहरूको भनाई छ।
दैनिक बजार गएर दूध, तरकारी, फलफूल र अन्न किनी खानेको जनसङ्ख्या उच्च रहेपनि उर्लाबारी नगरपालिकामा हालसम्म कृषि बजार स्थापना हुन सकेको छैन्।
एकातिर किसानले आफ्नो उत्पादन डोकोमा, साइकलमा बोकेर चौक चौकमा बिक्री गर्न पाउँदैनन् भने अर्को तर्फ कृषि बजारको अभावमा आफ्नो उत्पादनको मूल्य आफैं तोकेर बिक्री गर्न सक्दैनन्।
छिमेकी शहरहरूबाट आउने व्यापारीले नै किसानको उत्पादनको मूल्य तोकिदिने गरेकोले उत्पादनमा लागेका किसान समस्यामा छन्। मोरङको पुरानो बजार भए पनि हालसम्म कृषि बजार नहुँदा किसानमा निरासा छ। ‘दुख र पसिनाको मूल्य पाइँदैन’, किसान कपिलमणि खतिवडाले भने।
बेमौसमी उत्पादनलाई बजारको समस्या छैन। तर, मौसमी उत्पादन बजार नपाएर बारीमै कुहिएर सकिने खतिवडाको भनाई छ।
तरकारी र फलफुल मात्र होइन, चैते धान भित्र्याउने समयमा किसानले ठूलो सकस ब्योहोर्नु पर्छ। धान थ्रेसिङ गरेपछि भण्डारणको समस्या छ। अझ बढी समस्या त धान सुकाउने प्रविधि नगरमा भित्रिएको छैन।
चैते धान सुकाएर बजारसम्म पु-याउन वा आफै भण्डारण गर्ने हो भने किसानले त्यही धान मङ्सिरमा राम्रो मूल्य लिएर बिक्री गर्न पाउने थिए।
मह र च्याउको ‘हब’ बन्दै उर्लाबारी
उर्लाबारी नगरको प्रमुख पहिचान यहाँ उत्पादित मह र च्याउ बन्दै गएको छ। उर्लाबारीमा एउटा मौरीपालन सहकारी संस्था, मौरी २ वटा मौरीपालन समूह र एउटा मौरीपालन स्रोत केन्द्र रहेका छन्।
५१ जना किसान मौरीपालनमा प्रत्यक्ष संलग्न रहेका छन् भने उनीहरूसँग १ हजार ३४५ घार मौरी रहेका छन्। मेलिफेरा मौरीपालन सहकारी संस्थाका अध्यक्ष बोधराज खतिवडाका अनुसार उर्लाबारीका मौरीपालक किसानले वार्षिक २५ हजार किलो मह उत्पादन गर्दै आएका छन्। किसानले महबाट मात्र १ करोड ५० लाख रुपैयाँ प्राप्त गरिरहेका छन्।
गत वर्ष महको उत्पादन अझ बढ्यो। तर, उत्पादन भएको सबै मह बिक्री हुन सकेन। रमेश खड्काले भने– किसानको माग अनुसार नगरले सहयोग गरे उत्पादन दोब्बर गर्न सकिन्छ। उर्लाबारी नगरका किसानले वार्षिक ३५ देखि ४० लाख रुपैयाँको मौरीको गोला मात्रै बिक्री गर्दै आएको उनको भनाइ छ।
मह मात्र होइन। च्याउ उत्पादनका लागि पनि उर्लाबारी प्रदेश १ मै सबैभन्दा अघि छ। यहाँका विनय च्याउ उद्योग र आधुनिक च्याउ उद्योगले उर्लाबारीलाई च्याउ उत्पादन गर्ने शहरका रुपमा परिचित गराइरहेका छन्। च्याउ उत्पादन गर्ने २५ वटा फर्म नगरको कृषि शाखामा दर्ता भइसकेका छन्।
दर्ता नगरी उत्पादनमा लागेका किसानको सङ्ख्या झण्डै २५ नै छ। नगरमा च्याउ स्रोत केन्द्र १ वटा, नमूना कृषि फर्म १ वटा, बीउ उत्पादन गर्ने फर्म २ वटा, च्याउ उत्पादनका लागि निर्माण भएका टहरा २५० वटा रहेका छन्। उर्लाबारीका सबै च्याउ उद्योगले वार्षिक २ लाख ५० हजार केजी च्याउ उत्पादन गर्ने गर्छन्।
च्याउबाट मात्र उर्लाबारीका किसानले वार्षिक २ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको देखिन्छ। च्याउकोे बजार मोरङ मात्र होइन। देशका सबै शहरमा उर्लाबारीको च्याउ पुग्ने गर्छ। कुनै ताजा च्याउका रुपमा भने कुनै सुकुटी र अचारका रुपमा।
च्याउ खेतीमा मात्र २ सय जनाले प्रत्यक्ष रोजगार पाएका छन्। अझ उर्लाबारीको किसान चौकमा च्याउका ३५ परिकार पाउने होटल ड्रिम खुलेपछि च्याउको खपत बढेको च्याउ उत्पादक उदयचन्द्र श्रेष्ठ बताउँछन्।
गत वर्ष चैत ११ देखि सुरु भएको बन्दाबन्दीले च्याउ किसान ठूलो मारमा परे। विनय च्याउ उद्योगका सञ्चालक निशा श्रेष्ठले भनिन्–च्याउको बीउ उत्पादन गर्ने कार्यक्रम नै अघि बढ्न सकेन। ठूलो लगानी भएको थियो। तर, उत्पादन लिन सकेनौं।
कृषि उत्पादनको प्रशोधन र बजारीकरणमा समस्या
किसानले परिश्रम गरेर उत्पादन गरेको खाद्य, नगदे, फलफूल र तरकारीबाली भण्डारण र प्रशोधनको कुनै ब्यवस्था नगरमा छैन। बारीमा कुहिएर जाने टमाटरलाई प्रशोधन गर्ने उद्योग भए किसानले ठूलो आर्थिक घाटा ब्योहोर्नु पर्ने थिएन।
फलफुल र तरकारी भण्डारणका लागि शीत भण्डार छैन। जति उत्पादन हुन्छ। त्यो सबै खपत नहुने अवस्थामा किसानले खाएरै सक्नु पर्ने अवस्था छ। एकातिर बजारको अभाव र अर्को तर्फ भण्डारणको अभाव हुँदा फलफूल र तरकारी मात्र होइन। खाद्यान्न बाली पनि कुहिएर जाने गरेको किसानहरूको भनाई छ।
पशुपालक एक किसानले भने– प्रतिमन ८ सय रुपियाँमा मकै बिक्री गरेर पछि मकैको पीठो प्रतिमन १६ सय रुपैयाँ लगाएर किन्नुपर्ने बाध्यता छ। यो एउटा उदाहरण मात्रै हो। कृषि उत्पादनमा आधारित उद्योग स्थापना नहुँदा किसानले बजार पाउन सकेका छैनन्।
कृषि उत्पादनमा ठूलो लगानी गरेर उत्पादित उपजलाई बजारीकरण र प्रशोधनको प्रबन्ध मिलाउन सकिएन भने नगरको लगानी बालुवामा पानी झैं हुने देखिन्छ। एकाध किसानलाई सानातिना कृषि प्रविधिका सामग्री बाढ्दा उनीहरू खुसी होलान तर, त्यसले उत्पादन वृद्धिमा कुनै पनि परिणाम दिँदैन।
कृषि उत्पादनको अवस्था
जिल्ला पाश्र्व चित्र २०७० अनुसार मोरङको उर्लाबारी नगरमा ६ हजार २३ हेक्टर जमीन खेतीयोग्य छ। जसमध्ये झण्डै ५ सय हेक्टर खेतीयोग्य जमीन प्लटिङ भइसकको छ। बाँकी रहेको जमिनमा हिउँदे धान ३८ हजार मेट्रिक टन उत्पादन हुने गर्छ।
वर्खे धान १ हजार ७५० मेट्रिक टन उत्पादन हुन्छ भने मकै ३२ हजार ८०० मेट्रिक टन उत्पादन हुनेगर्छ। यस्तै गहुँ १०२ दशमलव ५ मेट्रिक टन र फाफर १७ दशमलव ५ मेट्रिक टन उत्पादन हुने गर्छ।
यसैगरी दलहन तर्फ १० दशमलव ८ मे.टन मुसुरो ,मास ५ मे.टन,मुङ १३ दशमलव ५ मे टन र खेसरी ५ मे.टन उत्पादन हुने कृषि शाखाको तथ्याङ्कमा उल्लेख छ। यसैगरी उखु १हजार १७६ मे.टन ,तरकारी ४९ सय मे.टन र फलफुल १४० मेट्रिक टन उत्पादन हुने गरेको छ।
यस्तै तेलहन बाली उत्पादनमा पनि उर्लाबारी अग्रस्थानमा रहेको छ। नगरको कृषि शाखाको तथ्याङ्क अनुसार तोरी २२ दशमलव ४९ मेट्रिक टन, सूर्यमुखी १५ मे.टन, झुसेतिल २ दशमलव ४ मे.टन र आलस २ मे. टन उत्पादन हुने गरेको छ।
कृषि उत्पादन वृद्धिका लागि सहयोगी संस्था
उर्लाबारी नगरमा किसानका लागि आवश्यक सामग्री बिक्री वितरण गर्ने ९ वटा एग्रोभेट सञ्चालित छन्। १५ वटा रासायनिक मल बिक्रीका डिलर छन्।
त्यस्तै ७२ वटा कृषि फर्म नगरमा दर्ता भएका छन् भने ११४ वटा कृषि समूह नगरको कृषि शाखामा आवद्ध छन्। त्यस्तै कृषि सहकारी संस्थाको सङ्ख्या ९ रहेको छ। नगरको कृषि शाखाले गठन गरेका कृषक समूहलाई बेला बेलामा प्रबिधि सम्बन्धी तालिम पनि उपलब्ध हुने गरेको छ।
निष्कर्ष:
उर्लाबारी नगरको परिचय कृषि उत्पादनसँग जोडेर दिन सकिने प्रसस्त सम्भावना देखिन्छन्। सरकारले कृषि र पशुपालनलाई अलग अलग विधामा राखेकोले यहाँ पशुपालन सम्बन्धी बिषय उठान भएको छैन्।
उर्लाबारी मत्स्य पर्यटनका लागि देश कै नमूना नगरका रुपमा स्थापित हुनसक्छ। पशुपालन र कृषिका माध्यमबाट उर्लाबारीलाई समृद्ध र आत्मनिर्भर नगर बनाउन सकिन्छ। यसका लागि यहीँका किसान, नगरपालिका र नीजि क्षेत्र बीच समन्वयको खाँचो देखिन्छ।
उत्पादन वृद्धि गरेर मात्र हुन्न। नीजि क्षेत्रले त्यसलाई प्रशोधन र बजारीकरण गरिदिनु पर्छ। जसका लागि नगरपालिकाले मियोको भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ।
नगरले जति काम गरेको छ, ती कामबाट नगरका किसान सन्तुष्ट नै देखिन्छन्। किसानले कृषि कर्मबाट ठूलो आर्थिक लाभ प्राप्त गरेका छन्। तर, नगरको विकासमा कृषि क्षेत्रको योगदान कति हो भन्ने तथ्याङ्क नगरसँग छैन।
जुन क्षेत्रमा नगरले लगानी गर्छ। त्यसको परिणाम देखिनु पर्छ। दुई चार जना किसान खुसी हुँदैमा त्यसलाई नै उपलब्धिका रुपमा पाखुरा बजाउने भन्दा अङ्कमा उपलब्धि प्राप्त गर्नु उपयुक्त हुनेछ।