सामाजिक सुरक्षा कोषद्वारा पाँच करोड दाबी भुक्तानी

File photo
File photo

सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै  पाँच करोड भुक्तानी गरेको छ।

विभिन्न चार योजनाअन्तर्गत एक हजार ४३५ योगदानकर्तालाई रु चार करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ। कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ। एक हजार २२६ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत रु दुई करोड ५८ लाख ४६ हजार १५५ भुक्तानी भएको छ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट ७० लाभग्राहीलाई रु १८ लाख ५० हजार ६२९, आश्रित परिवार सुरक्षा योजनाबाट २२ लाभग्राहीलाई रु ३४ लाख २९ हजार ६४ र वृद्धावस्था सुरक्षा योजनाबाट ११७ लाभग्राहीलाई रु एक करोड ६२ लाख ५५ हजार ७८१ भुक्तानी दिइएको कोषले जनाएको छ।
यही चैत ११ गतेसम्म कोषमा रु चार अर्ब ८० करोड योगदान सङ्कलन भएको छ।

कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ। यस्तै ३१ प्रतिशत रकममध्येबाट कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि ०.२७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत छुट्याईने छ। रासस

प्रकाशित मिति: : 2021-03-29 17:54:00

प्रतिकृया दिनुहोस्