समानुपातिकले संसद् चलाउने, प्रत्यक्षले बाख्रा चराउने ? माओवादीले पाँच सिटभन्दा जित्दैन

अमरेशकुमार सिंह– नेता, नेपाली कांग्रेस

बाह्रखरी

काठमाडौं

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदमलाई फागुन ११ गते सर्वोच्च अदालतले उल्ट्याइदिएपछि ओली सरकार ढल्ने र नयाँ सरकार बन्ने आम अपेक्षा थियो।

तर, प्रतिनिधिसभा पुनःस्थापना भएको एक महिना बितिसक्दा पनि तत्काल नयाँ सरकार बन्ने लक्षण देखिएको छैन।

प्रतिनिधिसभा विघटनको कदमलाई लिएर सडक आन्दोलन गरेका राजनीतिक दलहरूले ओलीविरुद्ध अभिव्यक्ति दिनेबाहेक थप कुनै कदम चाल्न सकेका छैनन्।

प्रतिनिधिसभा विघटनको कदमलाई लिएर ‘ढुलमुले’ प्रवृत्ति देखाएको प्रमुख प्रतिपक्षी दल कांग्रेसले नयाँ सरकार गठनको विषयमा स्पष्ट निर्णय लिन सकेको छैन। अर्कोतिर भूराजनीतिक प्रभावका कारण पनि नेपालको राजनीतिले निकास नपाएको राजनीतिज्ञहरु नै बताउँछन्। तीमध्येका एक कांग्रेस सांसद अमरेशकुमार सिंह ।

पछिल्लो राजनीतिक अवस्था, कांग्रेस महाधिवेशनलगायतका विषयमा केन्द्रित रहेर नेता सिंहसँग बाह्रखरीका रमेश वाग्लेले कुराकानी गरेका छन्। प्रस्तुत छ, सिंहसँग गरिएको कुराकानीको सम्पादित अंशः

नेपालको राजनीति किन थप अन्योल हुँदैछ ?

यसको मूल कारण नेपालका हरेक पार्टी नेतृत्वका आ–आफ्नै स्वार्थ छन्। देशको स्वार्थभन्दा फरक, नितान्त व्यक्तिगत। अहिले मुलुक राजनीतिक दलहरूको आ–आफ्नै खिचातानी र भूराजनीतिले गजल्टिएको छ। जस्तो हेर्नुहोस् न ! प्रधानमन्त्रीले गरेको संसद् विघटनलाई लिएरसमेत दलहरू विभाजित देखिए।

नेपाली कांग्रेसकै कुरा गर्नुहुन्छ भने राजनीतिकरूपमा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भने पनि अनौपचारिक रूपमा पार्टी विभाजित थियो। आधा नेता चुनावमा जानुपर्छ भन्दै थिए भने रामचन्द्र पौडेल, गगन थापा, कृष्ण सिटौलाहरू संसद् पुनःस्थापना हुनुपर्छ, यसले संविधान र व्यवस्था नै खारेजी हुन्छ भन्दै हुनुहुन्थ्यो। पार्टी सभापति निर्वाचनको माहोल बनाउन लगाएर आफू मौन ब्रतमा हुनुहुन्थ्यो। 

त्यसकारण राजनीतिक अन्योल हटाउन र देशलाई राजनीतिक ट्रयाकमा हिँडाउन दलहरू जति सक्रिय हुनुपर्थ्यो त्यति हुन सकेनन्। त्यसको कारण भनेको अहिले जति पनि राजनीतिक दलका नेतृत्वहरू छन् ती सबै अवैधानिक छन्। नेपालमा कुनै एउटा पार्टी पनि छैन जसको नेतृत्व वैधानिक होस्। 

पार्टी विधान र संविधानमा तोकिएको समयभित्र कसैले पनि अधिवेशन गर्न सकेका छैनन्। त्यसले देशको लोकतन्त्रलाई नै कमजोर पारिरहेको छ। कुनै पनि पार्टी लोकतान्त्रिक पद्धतिमा चलेका छैनन्। आजको दिनमा नेपाली जनता राजनीतिक दलहरूको कब्जामा छन् ती दलहरू गुटको कब्जामा छन्, हरेक गुट विचौलियाको कब्जामा छ।

त्यसकारण यो देश गिरोह र विचौलियाको कब्जामा छ। यहाँ जनताले केही पनि गर्न सक्दैनन्, राजनीतिक पार्टीको सदस्य भएपछि जे पनि भइहाल्छ। त्यो गिरोहको स्वार्थमा स्वस्थ आलोचना मात्र गरिदियो भने पनि त्यो समाप्त हुन्छ।

नेपालमा हरेक कुरालाई राजनीतिकरण गर्ने प्रवृत्ति हाबी छ। हरेक संस्थाको साख घटेको छ, अझ समाप्त हुने क्रममा छ।

अदालत, संवैधानिक आयोगहरू, विश्वविद्यालय सबैमा ‘डिग्निफिकेसन’ को समस्या छ। पार्टी र सिद्धान्तभन्दा व्यक्ति केन्द्रित आस्था बढिरहेको छ। जसले गुट चलाउन सक्छ, जोसँग पैसा छ उसैको प्रभाव सर्वोपरी छ। गुट चलाउनका लागि पैसा अनिवार्य छ। गुटको नेतालाई गिरोह र विचौलियाले पैसा दिन्छ। त्यसकारण यहाँ लोकतन्त्र होइन विचौलियातन्त्र छ, गिरोहतन्त्र चलिरहेको छ। विचौलियातन्त्रको आफ्नो ‘इन्ट्रेस्ट’ हुन्छ।

पछिल्लो दश वर्षमा सय जना अर्बपति भएका छन्। त्यो कानुनी र वैधानिक कमाइले होइन। अख्तियारलाई हर्नुहोस् न दुई–चार हजार खानेलाई थुन्छ तर, अर्बौँ  रुपैयाँ खानेलाई चलाएको देखिँदैन। निर्वाचन आयोगलाई हेर्नुस्, त्यत्रो दलहरूको झगडा भयो निर्णय गर्न सकेन। अदालतको मुख हेरेर बस्यो। पहिला अदालतले निर्णय गरोस् हामीले केहि पनि गर्नै पर्दैन भन्ने देखियो। 

प्रकाशित मिति: : 2021-03-29 16:23:00

प्रतिकृया दिनुहोस्