उरिमको भुइँतला एक कुनामा टुक्रुक्क बसेको छ, ढुंगेओदान। त्यही ओदानमा फलामे खौना थचक्क बस्छ। त्यसपछि खौनाको आधा पेट पानीले भर्छ। आगो बलेको केही समयपछि पानी भकभकी उम्लन थाल्छ। चिरुंगाबाट हरियो अनुहारे झुसे साग टिम्टाको बाटो भएर भकभकी उम्लिरहेको पानीमा हाम्फाल्छ। खौनाभित्र पानीमा डाडु घरी सिङारु त घरी टप्पा नाच्न थाल्छ। हेर्दाहेर्दै झुसे साग फतक्क गल्न थाल्छ। त्यसपछि दुईचार मुठी मकै पीठो पनि मिसिन्छ। पन्युडान्स जारी रहन्छ। झुसेसाग र पीठोले पानीसँग पार्टी एकता गरेपछि गाढा हरियोमा हल्का सेतो अनुहारे सुप बन्छ।
ढिँडो र सुप हातमालो गर्दै मुखभित्र पस्छन्। जुनवेला स्याल्याप्प–स्याल्याप्प संगीत सुनिन्छ। जस्तो सुनिन्छ, डल्लुगैरामा कोकलेले गाउँदा। खाइवरी भाँडाकुँडा माझ्छन्। घोप्टो पारी ओभाउँछन्। जस्तो परम्परागत विष्ट घरमा दलित समुदायले आफूले खाएको थाल माझेर थन्क्याउँछन्। घरभित्र पस्नुअघि तीतेपातीले हात र मुखमा दल्छन्।
तपाईंलाई खसखस लागिसकेको होला, घरबाहिर खाएर हातमुखमा तीतेपाती दली चोख्याएर मात्र घरभित्र पस्नुपर्ने के बिटुलो खान्की हो त्यो ?
रोप्दछ कसले ? हेर्दछ कसले ?
अछुत जातको नित अपयशले
निन्दित, वर्जित, त्यक्त कुनामा
फस्टिरहेछु विष नमुनामा
...भू नभएका जनका निम्ति
प्रकृतिसामुमा गरीकन बिन्ती
आफ्नो भरमा उम्रेँ पलाएँ,
कुडा कर्कट झटारो पाएँ
(सिस्नोको गुनासो, लक्ष्मीप्रसाद देवकोटा, लक्ष्मी कवितासंग्रह)
तपाईंको बारी ढिकढाक र कान्लामा आफैँ हलक्क हल्कने सिस्नो हो। जुन सिस्नो पकाउनुलाई उत्तर–पश्चिम रोल्पातिर ‘सिस्ना घोट्ने’ भन्छन् त खानुलाई ‘बित्लो खाने’। सिस्नो पाक्ने त्यही ओदानमा कहिले राँगाको मासु पाक्छ भने कहिले सुँगुरको। तपाईंले सुनेको सिस्नो सिलुक उत्तरी रोल्पाको एउटा गाउँको मगर घरको। मगर बहुल रोल्पाको त्यस गाउँमा एक दर्जन मगर (पुन र बुढा) घर छन्। उत्तिकै संख्यामा क्षेत्री (खत्री, खड्का र ओली) घर र एक घर चन्द ठकुरी छन्। तपाईंलाई लागेको होला, ‘साह न कुसाह, पिँडालु टुसा’जस्तो दलित, गरिब र आदिवासी खान्की अर्थात् बितुलु सिस्नोको के कुरा गरेको !’