यान्त्रिकीकरणतर्फ अलैँची किसान

उत्पादन लागत घटाई आम्दानी बढाउन यहाँका अलैँची किसान यान्त्रिकीकरणतर्फ आकर्षित बनेका छन्।

जनशक्ति र समयसमेत कम लाग्ने भएपछि किसानले आधुनिक खेती प्रणाली अपनाउन थालेका हुन्। परम्परागत सीप र प्रविधिको ठाउँमा नयाँ यन्त्र, उपकरणको प्रयोग बढ्दो छ।

उन्नत प्रविधि अपनाउँदा कम लागतमा उन्पादन बढाउन सकिने गलकोट अलैँची ब्लक सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताए। कृषि औजार तथा उपकरणमा दिइने सरकारी अनुदानले किसानलाई यान्त्रिकीकरणतर्फ लाग्न प्रोत्साहित गरेको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको अलैँची ब्लक कार्यक्रममा सम्मिलित १२ अलैँची किसानले यही साता ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो पाएको संयोजक भण्डारीको भनाइ छ।

उनका अनुसार कृषि ज्ञान केन्द्र बागलुङले ५० प्रतिशत अनुदानमा अलैँची किसानलाई मिनिटिलर वितरण गरेको हो। रु ५२ हजार पर्ने मिनिटिलर किसानले रु २६ हजारमा पाएका हुन्। अलैँचीका बिरुवा, सिँचाइ, अलैँची सुकाउने भट्टी, त्रिपाललगायतका सामग्री किसानले ८५ प्रतिशतसम्म अनुदानमा पाउँछन्।रासस

प्रकाशित मिति: : 2021-03-26 07:09:00

प्रतिकृया दिनुहोस्