प्रदेश नं २ सरकारको मन्त्रिपरिषदको निर्णयअनुसार समाजिक विकास मन्त्रालयको निर्देशनमा प्रादेशिक र जिल्ला अस्पतालमा कोरोना महामारीका बेला करारमा खटिएका स्वास्थ्यकर्मीहरुले तलब भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रने भएका छन्।
करार अवधि समाप्त भइसक्दा पनि प्रदेश नं २ सरकारले तलब भत्ता उपलब्ध गराउने कुनै छाँटकाँट नदेखाएपछि आन्दोलनमा उत्रिन लागेको स्वास्थ्यकर्मी शुसिल यादवले बताए। करारमा खटिएका करिब चार सय जना स्वास्थ्यकर्मीहरुले चार महिनाको तलब भत्ता पाएका छैनन्। उनीहरुले साउनदेखि कार्तिक मसान्तसम्म करारमा काम गरेका थिए ।
आन्दोलनमा उत्रन लागेका स्वास्थ्यकर्मीहरुले आज बिहिबार प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामस्थित बारहबिघा मैदानबाट बिरोध प्रदर्शन गर्दै मुख्यमन्त्री लालबाबु राउत बस्ने कार्यालयसम्म पुग्ने कार्यक्रम रहेको छ।
प्रदेश नं २ को समाजिक विकास मन्त्रालयले साउन १ गते प्रादेशिक र जिल्ला अस्पताललाई पत्र लेख्दै कोभिड–१९ नियन्त्रणका लागि करारमा खटिएका कर्मचारीहरुलाई कोरोना नियन्त्रण भई नसकेकोले आवश्यकता र औचित्यको आधारमा कर्मचारीहरुलाई ०७७/०७८ को पहिलो चौमासिकसम्मका लागि म्याद थप गर्न निर्देशन दिएको थियो।
म्याद थप तथा करारका स्वास्थ्यकर्मीहरुले प्रादेशिक अस्पताल जनकपुर, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र जिल्ला अस्पतालहरुले सञ्चालन गरेको कोरोना इपिसेन्टरमा रही काम गरेका थिए।
करारमा खटिएका स्वास्थ्यकर्मीले समयअवधि समाप्त भएपछि काम छोडिसकेका छन भने कतिपय अहिलेसम्म काम गर्दै आएका छन्। स्वास्थ्यकर्मीलाई बर्खास्त गर्ने बिषयमा प्रदेश सरकारले कुनै पत्राचार नगरेकोले उनीहरु अहिलेसम्म कार्यरत छन्। तलब भत्ताको माग गर्दै स्वास्थ्यकर्मीहरुको समुहले गएको माघ २७ गते मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र समेत बुझाएका थिए।
समाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले रकम निकासको लागि आर्थिक मन्त्रालयमा प्रस्ताव पेश गरिसकेको र आर्थिक मन्त्रालयको क्याबिनेटले निर्णय पास गरेको चिठ्ठी प्राप्त हुन बितिकै तलब भत्ता उपलब्ध गराउने भनी आलटाल गर्ने गरेको अर्का स्वास्थ्यकर्मी पप्पुकुमार यादवले जनाए।
महामारीका बेला ज्यानको समेत प्रवाह नगरी घरपरिवारबाट महिनौसम्म टाढा बसेर काम गरेका स्वास्थ्यकर्मीले तलब भत्ता नपाउँदा आर्थिक संकटमा परेका छन्। कोठा भाडा, उधाररो र पकेट खर्च चलाउन साथीभाइसँग लिनको सापटी रकम तिर्न समस्यामा परेको छ।