पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू-भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ।
विभागले जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय, पाँचखाल नगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय र पाँचखाल नगरपालिका-७ वडा कार्यालयलाई पाँचखालको करिब ६०० रोपनी जमिनमा गरिने सर्वेमा सहयोग गर्न अपिल गरेको हो।
विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले यही चैत ६ गते पत्राचार गर्दै विभागको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत चैत दोस्रो साताको अन्त्यतिर शुरु हुने सर्वे र ड्रोन क्यामेरामार्फत फोटो लिने कार्यका लागि सहयोग गर्न सरोकारवाला निकायसँग अनुरोध गरेका हुन्।
पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्वे गर्न बेलायतस्थित दूरहाम विश्वविद्यालयका विज्ञ टोली मार्च पहिलो साता नेपाल आएको थियो। टोलीले कपिलवस्तुबाट सम्पदा खोज-अनुसन्धान थालेको पुरातत्व विभागले जनाएको छ।
बेलायतबाट आठ जनाको भू-भौतिकी सर्वेक्षणको एक समूह नेपाल आई केही दिनदेखि कपिलवस्तुमा सर्वेक्षण गरिरहेको विभागका निर्देशक दामोदर गौतमले बताए।
उनका अनुसार नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्वे गर्नु आवश्यक देखिएकाले बेलायतबाट टोली मगाइएको हो। रासस