फर्जी म्यानपावरको बिगबिगी

अनलाइनखबर

काठमाडौँ

रवीन्द्र घिमिरे

 

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पछिल्लो समय नक्कली संस्थाहरु बढी सक्रिय हुन थालेका छन् । नक्कली म्यानपावर कम्पनी खडा गर्दै युवालाई प्रलोभनमा पारेर ठगी गर्ने क्रम बढेको वैदेशिक रोजगार विभाग बताउँछ ।

महामारीपछि रोजगारविहीन भएका धेरै युवा विदेश जान चाहेपनि पर्याप्त माग नआएकाले अवसरको खोजीमा म्यानपावर कम्पनीमा भौतारिरहेको अवस्था छ । बेरोजगार युवाको यो बाध्यताको गलत फाइदा उठाउन नक्कली म्यानपावर कम्पनी खडा गर्दै ठग्ने गिरोहहरू बढेको विभागको अनुगमनबाट खुलेको छ ।

वैदेशिक रोजगार विभागका प्रवक्ता टिकामणि नेउपाने ठग्नकै लागि कार्यालय नै खडा गरेर फर्जी कारोबार गरिरहेका ‘म्यानपावर कम्पनी’ अनुगमनका क्रममा भेटिन थालेको बताउँछन् ।

रिक्रुटमेन्ट एजेन्सीकै शैलीमा कार्यालय खडा गरेर बस्नेहरू थुप्रै भेटिन थालेकाले युवा सचेत हुनुपर्ने उनको भनाइ छ । व्यक्तिगत रुपमा एजेन्ट भएर काम गर्दा श्रमिकलाई विश्वासमा लिन गाह्रो हुने भएपछि यस्तो तरिका अपनाएको हुनसक्ने विभागको अनुमान छ ।

‘म्यानपावर कम्पनीसँग मिल्दोजुल्दो नाम राखेर ठगीधन्दा चलाउनेहरू धेरै देखिन थालेका छन्,’ प्रवक्ता नेउपाने भन्छन्, ‘यस्ता फर्जी कम्पनीको विश्वासमा युवा पर्दा ठगिने क्रम पनि अवश्य बढ्छ, त्यसैअनुसार विभागमा उजुरी पनि आइरहेका छन् ।’

प्रकाशित मिति: : 2021-03-21 21:48:00

प्रतिकृया दिनुहोस्