शंकर–घनश्याम : एमाले दुई धारका थिङ्कट्याङ्क

शिलापत्र

काठमाडौँ

एमाले उपमहासचिव घनश्याम भुसाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल तीन दशकदेखि एउटै पार्टीमा छन्, तर खोलाका किनाराजस्तै विपरीत धारमा।

 पार्टीभित्र दुवैले वैचारिक नेताको परिचय बनाएका छन्। गुटभन्दा माथि उठ्न नसक्दा सिंगो पार्टीको नेता बन्ने ल्याकत भने दुवैमा देखिँदैन। त्यसैले पार्टीभित्रको लामो दुई धार संघर्षमा पोखरेल र भुसाल आआफ्ना गुटका थिङ्कट्याङ्कमा सीमित हुन पुगेका छन्। 

भुसाल र पाेखरेल दुवै २०४६ सालको जनआन्दोलनअघिसम्म वैचारिक रूपमा  एकै ठाउँ थिए। तत्कालीन मालेनिकट अनेरास्ववियूमा पोखरेल उपाध्यक्ष थिए भने भुसाल महासचिव। वाममोर्चा एक्लै वा कांग्रेससँग मिलेर संयुक्त जनआन्दोलन गर्ने भन्नेमा तत्कालीन माले द्विविधामा थियो। पार्टी संस्थापन कांग्रेससँग मिलेर आन्दोलन गर्न हिच्किचाइरहेको थियो। पोखरेल संस्थापनमै थिए, तर कांग्रेससहितको संयुक्त जनआन्दोलनका पक्षमा उनी भुसालसँगै एक ठाउँ उभिए।  

‘२०४६ सालको जनआन्दोलनअघिसम्म शंकरजी र म ठ्याक्कै एकैठाउँ थियौँ’, भुसाल सम्झिन्छन्, ‘वाम मोर्चाले मात्र पन्चायत फाल्न सक्दैनौँ भन्नेमा हामी प्रस्ट थियौँ । अनेरास्ववियूले निर्णय गरेर पार्टीलाई कांग्रेससहितको संयुक्त जनआन्दोलनमा ल्याएको हो।’

भुसाल र पोखरेल दुवै २०३६ सालको विद्यार्थी आन्दोलनको सेरोफेरोबाटै राजनीतिमा सक्रिय भएका हुन्। त्यतिबेला पोखरेल प्रवासमा थिए। उनी अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष पनि भए। पार्टीले उनलाई २०४३ सालमा काठमाडौंमा बोलायो र अनेरास्ववियूको बागमती अञ्चल कमिटीमा राख्यो। 

प्रकाशित मिति: : 2021-03-20 20:10:00

प्रतिकृया दिनुहोस्