सुनको आपूर्ति बढाउँदै राष्ट्र बैंक

सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैंक सकारात्मक बनेको छ। बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धिगर्न राष्ट्र बैंक तयार भएको हो।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधबार भएको भेटकाक्रममा राष्ट्र बैंकका बरिष्ट डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाले सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक रहेको बताइन्।

उनले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको जनाउँदै केही दिन भित्रै यस बिषयमा निर्णय हुने बताइन्।

माग र आपूर्तिवीच चरम सन्तुलन देखिएको स्वीकार गर्दै उनले अहिलेको बजारको वास्तविक मागका बिषयमा ब्यवसायीहरुसँग चासो राखेका थिए।

सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधमिण्डलसँगको भेटकाक्रममा अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै माग र आपूर्तिको वीचमा सन्तुलन ल्याउनकालागि आपूर्ति बढाउन राष्ट्र बैंकले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए।

त्यसक्रममा विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले कोटा वृद्धिकालागि आवश्यक प्रकृया अगाडि बढाउने प्रतिवद्धता जनाए। सोही विभागका उपप्रमूख गुरु प्रसाद पौडेलले ब्यवासायीको माग सिघ्र सम्वोधन हुने बताए।

त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न राष्ट्र बैंकका पदाधिकारीहरु समक्ष आग्रह गरे।

उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गरे।

अहिले बजारमा दैनिक ३० किलो सम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता उनले औंल्याए।

आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उनले स्मरण गराए।

पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ।

लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो।

प्रकाशित मिति: : 2021-03-17 18:34:00

प्रतिकृया दिनुहोस्