शेयरबजारमा सुधार, ४० अंकले बढ्यो नेप्से

फाइल तस्वीर
फाइल तस्वीर

सेयर बजारमा विस्तारै सुधार हुन थालेको छ। बुधबार नेप्से सूचक साढे १ प्रतिशतभन्दा धेरैले बढेको छ।

गत दुई सातादेखि घट्दो क्रममा रहेको शेयर बजार मंगलबारबाट भने बढ्न थालेको छ। मंगलबार झिनो अंकको सुधार देखिएको बजारमा बुधबार भने ४० अंकले बढेको छ।

नेप्से सूचकमा आकर्षक चमक आउँदा आउँदा लगानीकर्ताले विस्तारै खरिद गर्ने प्रवृत्ति देखिएको छ।

लामो समयसम्म बजार तल झरेकाले अझै पनि धेरै लगानीकर्ताहरु आक्रामक हिसाबले सेयर खरिद गर्न सकिरहेका थिएनन्।

बजार यसरी नै बढ्दै जान थालेपछि एक–दुई दिनमा कारोबार रकममा समेत तेजी आउने अनुमान गरिएको छ।

साताको चौथो दिन नेप्से सूचक ४०.४० अंकले बढेर २४३२.१४ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि ८.११ अंकले बढेर ४३८.६० विन्दुमा पुगेको छ।

मंगलबार नेप्से सूचक घटेर २३७० विन्दुसम्म झरे पनि सोहि विन्दुबाट बजार लगातार उकालो लागेको छ।

२३७० विन्दुको टेवा विन्दुबाट बजार बढ्न थालेपछि केहि लगानीकर्ताहरुले भने बजारमा करेक्सन सकिएको र पुनः पुरानै लयमा फर्किएको विश्लेषण गरेका छन्।

११२ वटा कम्पनीको ८६ लाख २६ हजार ६६७ कित्ता शेयर ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ रुपैयाँमा खरिद बिक्री भएको छ। पाँच कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर, ग्रीन लाइफ हाइड्रोपावर, युनाइटेड इदि मर्दि हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

बुधबार घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरे ८.९५ प्रतिशतले घटेको छ भने गुडविल फाइनान्सको २.७८ प्रतिशत, गुहेश्वरी फाइनान्सको १.९० प्रतिशत, नेशनल हाइड्रोपावरको १.८१ प्रतिशत र बैंक अफ काठमाडौंको १.७० प्रतिशतले घटेको छ।

प्रकाशित मिति: : 2021-03-17 16:35:00

प्रतिकृया दिनुहोस्