फेवातालमा डुब्यो राजारामको पदक जित्ने सपना

अनलाइनखबर

काठमाडौँ

अमृत सुवेदी

२०७५ भदौमा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको थियो । प्याराग्लाइडिङ तर्फको पुरुष क्रस कन्ट्रीमा नेपालले रजत पदक हात पार्दै चर्चा र प्रशंसा बटुल्यो ।

पहिलो पटक भाग लिन पोखरादेखि गएको टोलीले पदक नै जितेपछि प्याराग्लाइडिङ प्रतियोगितामा बल्ल धेरैको नजर पुग्यो । त्योभन्दा अघि प्याराग्लाइडिङलाई खेलको रुपमा समावेश गरिएकै थिएन । व्यावसायिक रुपमा पोखरामा उडान भरिने भएपनि खेलाडी उत्पादन गर्ने गरी राज्यले लगानी गरेकै थिएन ।

प्याराग्लाइडिङ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने गरी नेपाली सेनाले खेलाडी उत्पादन गर्ने सोच बनायो । एसियाली खेलकुदमा पदक जितेयता नै नेपाली सेनाले प्याराग्लाइडिङको तालिममा  पठाउन थाल्यो ।

खेलाडी उत्पादन गर्ने सेनाको योजनाअनुसार अहिले २० जनाले प्याराग्लाइडिङको तालिम लिइरहेका छन् । त्यही टोलीबाट १ महिनादेखि पोखरामा प्याराग्लाइडिङको अभ्यास गरिरहेका थिए, धादिङको निलकण्ठ नगरपालिका–२ सिउँडीबारका २३ वर्षीय जवान राजाराम राना मगर ।

पोखरामै पनि प्याराग्लाइडिङ प्रतियोगिता हुँदै थियो । आउँदो प्रतियोगितामा नेपालबाट भाग लिएर पदक जित्ने सपनासहित मगरले पोखराको आकाशमा सोमबार सोलो (एकल) उडान भरिरहेका थिए ।

राजारामले हावामा कावा खाँदै पदक जित्ने सपना पूरा गर्न पाएनन् । अभ्यासकै क्रममा सोमबार प्याराग्लाडिङबाट फेवातालमा खसेर राजारामको ज्यान गएको छ । नेपाली सेनाको खेलकुद विभागबाट छनोट भएर पोखरामा तालिमका लागि आएका थिए ।

प्रकाशित मिति: : 2021-03-16 22:01:00

प्रतिकृया दिनुहोस्