काठमाडौंको बीच भागमा रहेको कुनै बेलाको खुला ठाउँ टुँडिखेल कहिले बसपार्क त कहिले पार्किङस्थल अनि कहिले व्यापारिक भवनको नाममा अतिक्रमण हुँदै गयो। त्यही खुला ठाउँमा विभिन्न निर्माण सामग्री थुपारिन थालियो। निर्दलीय व्यवस्थामा खुला भएको खुलामञ्च लोकतन्त्रमा बन्द भएको टिप्पणी सुनिँदै आएको छ।
ती अतिक्रमण हटाएर पुरानै स्वरुपमा फर्काउनुपर्ने भन्दै सम्पदा संरक्षण अभियन्ताले ‘अकुपाई टुँडिखेल अभियान’ सञ्चालन गर्याे। उनीहरूले २०७६ कात्तिक २३ देखि मानव साङ्लो निर्माण गरी तीनमहिने अभियान सुरु गरे। यसमा सर्वसाधारणले पनि साथ दिए। तर, अभियान चलेको तीन महिनासम्म पनि त्यहाँका संरचनाहरू हट्न सकेनन्।
यस अभियानमा काठमाडौं महानगरपालिकाले नै चासो नदेखाएको गुनासो अभियन्ताले गरिरहेका थिए। नगरप्रमुख विद्यासुन्दर शाक्यले नै खाली गर्न चासो नदेखाएका भन्दै उनको चर्को आलोचनासमेत भयो।
अन्तत: विभिन्न आन्दोलनको दबाबपछि महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने गरी बढेको छ। यद्यपि २०४६ को आन्दोलनपछि पनि त्यहाँ खुद्रा पसलेहरूले कब्जा जमाएर टुँडिखेल कुरुप बनाएका थिए।
महानगरका तत्कालीन उपमेयर नवीन्द्रराज जोशीको पहलमा तिनलाई हटाएर भृकुटीमण्डपमा व्यवस्थापन गरियो। त्यो अहिले त्यहीँ छ। चिनियाँ सहयोगमा बनेको भृकुटीमण्डप त्यसबेलासम्म बालक र वृद्धहरूका लागि घुमफिर गर्ने सुन्दर उद्यान थियो।
महानगरपालिकाले पहिलो पटक फागुन ५ गते खुलामञ्च तर्फका टहराहरू भत्काएको थियो। दोस्रो पटक गत आइतबार महानगरपालिकाले डोजर चलाएर निर्माण सामग्री राख्न निर्माण गरिएका संरचनाको वरिपरिको बार भत्काएको छ।