फेरि उघ्रिँदैछ राजदरबार सिनेमा घरको पर्दा (भिडिओ)

नेपाल खबर

काठमाडौं

ल्होत्से द्वारबाट नारायणहिटी दरबार संग्रहालयभित्र प्रवेश गर्ने बित्तिकै देखिन्छ– प्युठान कक्ष। २०२३ सालमा राजा महेन्द्रले राजपरिवारको मनोरञ्जनका लागि यो कक्षलाई सिनेमा हलमा रुपान्तरण गर्ने निर्णय गरेका थिए।

संग्रहालयका कार्यकारी निर्देशक तथा पुरातत्वविद् भेषनारायण दाहालका अनुसार २०२६ सालमा सिनेमा हल तयार भयो। त्यसपछि यहाँ राजपरिवारका सदस्यहरुले सिनेमा हेर्न थाले।

ल्होत्से प्रवेशद्वारबाट भित्र छिर्दा दायाँतर्फ एउटा सानो कोठा छ। आइतबार मध्यान्ह नेपालखबरकर्मी पुग्दा चलचित्र प्राविधिक भरत नेपाल दुईवटा चक्राकार मेसिनमा फिल्म प्रोसेसिङ गरिरहेका थिए।

‘हामी पुनः हल सञ्चालनको प्रयास गरिरहेको छौँ। पहिले थाहा पाएको भए यो भन्दा राम्रो हुन्थ्यो होला,’ नेपालले भने, ‘निगेटिभलाई सफा गर्नुपर्ने छ। त्यसलाई प्रोसिसिङ गर्ने र डेभलप गरेर सिनेमा देखाउन लायक बनाउनुपर्ने काममा म खटिएको छु।’

२०५८ सालपछि यो सिनेमा हल बन्द थियो। नारायणहिटी दरबार संग्रहालय विकास समितिले यसलाई सञ्चालन गर्ने तयारी गरिरहेको छ।

नेपाल २०३६ सालदेखि चलचित्र प्राविधिकका रुपमा काम गर्दै आएका छन्। त्यसैले उनलाई यो सिनेमा हलको नालिबेली थाहा छ।

प्रकाशित मिति: : 2021-03-14 20:35:00

प्रतिकृया दिनुहोस्