घनश्याम भुसाल
पछिल्ला साढे तीन वर्षमा हाम्रो बीचमा दुईवटा ठूला शक्तिहरू, दुईवटा ठूला पार्टीहरू एक ठाउँमा आए, गठबन्धन गरे । त्यो गठबन्धनको समाचार डढेलोझैं होइन, विद्युत गतिमा फैलियो । यसले असाधारण आशा, विश्वास र सपना सृजना गर्यो ।
म आफैं धेरै उद्वेलित थिएँ र कतिभन्दा कैयन गुणा उद्वेलित मान्छेहरू देख्थेँ । कम्युनिस्ट पार्टीमा लागेका, कम्युनिस्टलाई भोट हालेका, कम्युनिस्टलाई माया गर्नेहरूमा असाधारण विश्वास सृजना गर्यो । बौद्धिक जगतमा पनि समाजवाद भनेको छलफल गर्ने विषयमात्र होइन, साँच्चै सम्भव, असाध्यै वास्तविक वस्तुगत कुरा हो भन्ने मनोविज्ञान देशभित्र तथा बाहिर पनि बन्यो ।
भारतीय नाकाबन्दीका बेला खेलेको भूमिका, लिएका अडानका कारण कमरेड केपी शर्मा ओलीको व्यक्तित्व बढेकै थियो । हामीले गठबन्धन गरेपछि त्यसको चुलीमा बसेका ओलीजीको पनि ‘पपुलारिटी’ असाधारण बढेर गयो । त्यसमाथि हामीले अर्को एउटा राम्रो काम गर्यौं, पार्टी एकता । चुनावी गठबन्धनलाई हामीले सिमेन्टेड गरिदियौं ।
यसरी छ देखि दश महिनामा भएका असाधारण कामको प्रभाव सम्भवतः अरू एक वर्षसम्म रह्यो होला । संसदभित्र भने खुस्किसकेको थियो । किनभने पहिलो बजेट आएपछि त्यो मैले देख्दैनथेँ । त्यो समाजवादी आन्दोलन, त्यो समाजवादी सम्भावना, त्यो समाजवादी सपनाको प्रधानमन्त्री र अर्थमन्त्रीले ल्याउने बजेट थिएन भन्ने संसदमा देखिएको थियो । तैपनि संसदभन्दा बाहिर यसको प्रभाव खास कमी भएको थिएन ।
आज के भयो भनेर हेर्दा त्यो गठबन्धन रहेन, त्यो बहुमत रहेन । गठबन्धन र बहुमत टुक्रिसकेपछि, अझ संविधानमाथि नै हामी आफैंले आक्रमण गरेपछि त्यो विश्वासमाथि असाधारण कालो बादल मडारिएको छ । यस्तो डरलाग्दो प्रश्न खडा भएको छ, जसको उत्तर हामीले र हाम्रो सन्तानहरूले दिनुपर्ने छ । या त हामीले नै दिनुपर्नेछ, हामीले यसलाई सच्याउनुपर्नेछ ।