“संवेदना सबैभन्दा ठुलो कुरा हो। संवेदनाले हृदय र मस्तिष्कसगँ उत्तिकै नजिकको सम्बन्ध राख्छ। गीत र कविताको जन्म हुने भनेकै त्यही बाट हो, क्यारे!”- फुलेको कपाल र सेतो जुँगामा दिनेश अधिकारी तन्नेरी मुस्कान दिन्छन्।
कवि तथा गीतकार दिनेश अधिकारीलाई आफैपनि थाहा छैन की आजसम्म कति गीत र कविता लेखे। तर उनी रेकर्ड गरिएका गीत र कृतिको रुपमा आएका कविताहरु भने अनुमान लगाउन सक्छन्।
“कति लेखे भनेर ठ्याक्कै भन्न त सक्दिन। तर पाँच सयजति गीत रेर्कड भएका छन्। चार पाँच वटा कविता कृति छन्।”-उनी स्मरण गर्न खोज्छन्।
उनले लेखेका 'तिमी जुन रहरले म मा फुल्न आयौ', 'यो सम्झिने मन छ, म बिर्सु कसोरी', 'तिमी यसै लजायौ', 'सोचे जस्तो हुन्न जिवन', 'बोलबोल पाखाहरु', 'आँखाभरी नआउ', 'लैजा चैरी'जस्ता गीतहरु जिवन्त मानिन्छन्।
दोश्रो व्यक्तिले नपढुन्जेलसम्म लेखन व्यक्तिगत काम भएको उनको ठम्याई छ। तर सार्वजनिक भईसकेपछि जस्तो लेखनले पनि समाज र समुदायसगँ सम्बन्ध राख्ने उनको विश्वास छ।
लेखनको लागि अध्ययन, वातावरण, साधना र संवेदना चाहिने अनुभव सुनाउदै उनी कविता र गीतको तौल बराबर भएको जिकिर गर्छन। उनी भन्छन्- “लेख्न लागेको विषयमा म कविताबाट राम्रो अभिव्यक्ती दिन सक्छु की गीतबाट राम्रो दिन सक्छु भनेर धेरै सोच्छु। कहिलेकाही मलाई गीत र कविताको समान तौलले एउटै विषयमा दुवै लेख्ने बनाउछ।”
राम थापाको संगीत र कुन्ती मोक्तानको स्वरमा सजिएको एउटा गीत छ:
आफ्नो माया आफ्नो खुशी आफ्नो वचन
बिर्सियौ कसोरी ए हजुर मैले सकिन..
जसलाई लेख्न उनले १२ वर्ष लगाए। उनी भन्छन्-“पहिलो स्थायी लेखे। एउटा अन्तरा लेखे। त्यसपछि लेख्नै सकिन। त्यसलाई त्यत्तीकै राखेको थिए। झन्डै १२ वर्षपछि त्यो गीत पुरा गरे।”
त्यस्तै उनले ०४० सालमा अर्को गीत लेखे:
यो सम्झिने मन छ, म बिर्सु कसोरी
तिनी नै भनिदेउ, ए जाने निष्ठुरी...
जुन गीतले ०४४ सालमा स्वर सम्राट नारायण गोपालको स्वर पायो। पुराना दिन सम्झदै उनी तन्नेरी बन्छन्- “त्यो गीत लेख्दा मैले भर्खरै कलेज सकाएको थिए। कलेजमा साथीहरुले प्रेम सम्बन्ध छुटेको कुरा खुब सुनाउथे। छुटेपछि उनीहरु सजिलै एकअर्कालाई बिर्सन सक्ने कुरा गर्थे। त्यही परिवेशमा मैले यो गीत लेखे।”
उनी मिठो तरिकाले जिस्किदै प्रश्न गर्छन्- “भन्न त भन्छन् नी बिर्सिदेउ भनेर। तर त्यती सजिलो छ बिर्सन?”
कवि तथा गीतकार दिनेश अधकारीसगँ गरिएको विस्तृत कुराकानी भिडियोमा हेर्न सकिन्छ।