सरिशा अछामी
नीलो रङको जस्ताको छानो भएको एकतले घर, वरिपरि फलामको तारबारभित्र ठूलो आँगन– निकै रमणीय लाग्छ, बूढानीलकण्ठ नगरपालिका–४ चण्डेश्वरीस्थित ‘पवित्र समाज सेवा नेपाल’, जहाँ असहाय मानिस (विशेषगरी बालबालिका) लाई आश्रय दिइन्छ ।
अघिल्लो मंगलबार, बिहानको खाना तयार थियो । पवित्र समाज सेवाकी सञ्चालिका दीक्षा चापागाईं खाना पस्किँदै दिँदै थिइन् । बालबालिका लाइनमा बसेर खाना लिँदै थिए ।
‘फेसबुक ! छिटोछिटो खाना खाऊ है,’ दीक्षा बोलिन् । तीन–चार वर्षीय एक बालकलाई मायाले फेसबुक नाम राखिएको रहेछ ।
खाना खाइसकेका बालबालिका स्कुल ड्रेसमा सजिएर, किताबको झोला बोकेर भन्दै थिए, ‘ममी गएँ है ।’
दीक्षा खाना खान बोलाउँदै थिइन्– अम्बिका, मनिषा... ।
कोही खाजा ब्यागमा हाल्न, कोही चम्चा खोज्न, कोही कपालमा तेल दल्न, व्यस्त थिए । खाना खाने र विद्यालय जाने क्रम चलिरह्यो । एक–एक गरी गेटबाट बालबालिका बाहिरिँदै थिए ।
बालबालिकापछि दीक्षाले पाका महिलालाई खाना खान बोलाइन् । सुस्त मनस्थिति भएका चार–पाँच महिला आएर पालैपालो खाना लिए ।
लगभग ५० वर्षीया महिलाले उनलाई भनिन्, ‘ममी खाना थपिदिनू ।’