पार्टीको नाम फेर्दै माओवादी केन्द्र, के होला नयाँ नाम?

सागर न्यौपाने

काठमाडाैं

नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको छ।

बुधबार बसेको स्थायी समिति बैठकमा पार्टीको नाम फेर्ने विषयमा छलफल भएर सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उधृत गर्दै एक नेताले जनाए। पार्टीको नाम फेर्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी समितिका अधिकांश सदस्यहरु सहमत देखिएका छन्।

‘माओवादी केन्द्र नाम परिवर्तन गर्ने सहमति स्थायी समिति बैठकले गरिसकेको छ तर अर्को के नाम राख्ने भन्ने छलफल भइरहेको छ’, प्रवक्ता श्रेष्ठलाई उधृत गर्दै ती नेताले भने, ‘नेपाली कम्युनिस्ट पार्टी, एकीकृत नेपाल कम्युनिस्ट पार्टी वा अरु केही राख्नेबारे छलफल भइरहेको छ।’

एक जना युवा नेताका अनुसार सुरुमा केही युवा केन्द्रीय सदस्यहरुले यो पहल थालेका थिए।

स्थायी समितिमा सहमति भैसकेकाले चैत १ गते बस्ने केन्द्रीय समितिको बैठकमा औपचारिक रुपमै नाम परिवर्तनको प्रस्ताव लैजाने ती नेताले जानकारी दिए।

अदालतले एमाले र माओवादी केन्द्रलाई विभाजनअघिकै अवस्थामा पुर्‍याएपछि पुरानो नाममा नयाँ मानिसहरुको आकर्षण नहुने ठानेर नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव औपचारिक रुपमा केन्द्रीय समितिमा लैजान लागिएको हो। 

‘हाम्रो पार्टी भनेको जनयुद्ध लडेकाहरुको मात्र हो भन्ने देखियो,’ एक जना केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘नयाँ तप्कालाई समेट्न पनि नाम परिवर्तन गरेर जानुपर्ने कुरा नेतृत्वलाई भनेका छौँ।’

अन्य पार्टीबाट आउनेहरु माओवादी बन्न हिच्किचाउने भएकाले तिनलाई सहज प्रवेश गराउन नाम परिवर्तन गर्न लागिएको हो।

अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध प्रचण्डसँग एउटै समूहमा रहेका माधवकुमार नेपाल समूहले अलग भएर एमालेभित्रै रहेर संघर्ष गर्ने निर्णय गर्यो। यो निर्णय मुख्यतः एमालेमा नरहँदा सांसद पद धरापमा पर्ने कारणले गरिएको भएपनि माओवादी केन्द्रको नाममा पूर्वएमालेका नेता कार्यकर्ताहरू रहन नसक्ने अवस्थाका कारण पनि आएको मानिएको छ।

प्रकाशित मिति: : 2021-03-12 06:17:00

प्रतिकृया दिनुहोस्