शनिबारको बिदा–सिदा गोली मारेर, काँधमा गह्रुँगो क्यामरा र ट्राइपड बोकेर, मास्टरसेफ सन्तोष साहलाई पछ्याउँदै एकाबिहानै हामी नरदेवी आइपुगेका छौं।
म र मेरा भिडिओ सहकर्मी विवेक खिम्दुङ राई सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधरको निम्तोमा आएका हौं, जो आजका हाम्रा टूर गाइड हुन् र हामीलाई काठमाडौंका रैथाने पाकशालाहरूमा लिएर जाँदैछन्।
मैले उनलाई भनेको थिएँ, ‘हाम्रा नेताहरू दिनकै खिचडी पकाउँदै छन्, यी बबुरा भान्सेको के दाल गल्ला?’
उनले आफ्नै पारामा जवाफ दिए, ‘राजनीतिको खिचडी निल्नु न ओकल्नु!’
हो त नि! उनीहरू आफैं खान्छन्, हजम नभए आफैं ओकल्छन्! हामीलाई लिनु न दिनु!
उनले अगाडि भने, ‘यी मास्टरसेफलाई हाम्रा रैथाने परिकार चिनाउन पाए कम्तिमा उनले विदेशमा त चिनाउँछन्।’
आलोकले यस्तो आशा राख्नु गलत होइन। बिबिसी मास्टरसेफ च्यालेन्जका उपविजेता सन्तोषले काठमाडौंको य:मरि बेलायतलाई चखाए, निर्णायकहरूको वाहवाही पाए र आफू फाइनलसम्म पुगे। त्यसको भिडिओ हेरेदेखि यहाँका स्थानीयमाझ सन्तोषको लोकप्रियता हलक्कै बढेको छ।
यतिखेर उनी हामीसित काठमाडौंका साँघुरा गल्लीमा हिँडिरहँदा पनि मान्छेहरू फर्की–फर्की उनैलाई हेर्दै छन्। बाइकमा कुदिरहेकाहरू आफ्नो स्पिड कम गर्दै छन् र हेल्मेटको आँखीझ्यालबाट उनैलाई चिहाउँदै छन्। कोही चाहिँ नेता–अभिनेताझैं हात हल्लाउँदै ‘सन्तोष दाइ तारे माम’ भन्दै छन्। कति युवायुवती त उनीसँग सेल्फी खिच्नधरि झुम्मिए।