वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले पर्यटन पुर्नउत्थानका लागि सीमा नाकामा लागेको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन्।
उनले मान्छेबाट मान्छेमा कोरोना सर्ने भएपनि सीमामा भारतीय गाडीलाई रोकेर मान्छे आउन अनुमति दिइएको बताए।
‘गाडी रक्सौलमा छोडेर मान्छे आउन पाउने यो कस्तो नियम हो? अनि भन्सारमा समान लिएर गाडी आउँदा कोरोना नआउने?’ उनले भने, ‘गाडीले हैन मानिसले कोरोना सार्छ, प्रोटोकल बनाएर लागु गरौं। भारतीय गाडीलाई आउन दिँदा पर्यटन क्षेत्रमाथि उठ्न। सीमा क्षेत्रमा रोक लगाएर पर्यटन क्षेत्रलाई माथि उठाउन सकिँदैन।’
‘पर्यटन समृद्धिको आधार, हामी सबै साझेदार’ भन्ने मुल नाराका साथ वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज र पर्यटन पत्रकार संघ पर्साले पर्यटन पुनर्उत्थानका लागि साझेदारी कार्यक्रमको उदघोष गरिएको छ।
सोही कार्यक्रममा बोल्दै उनले भने, ‘एउटा टुरिष्ट आउँछ भने उसले आफूलाई र परिवारलाई कुनै वाधा अवरोध हुन्छ कि हुँदैन। भनेर सोच्छ। त्यसैले पर्यटक चढेको गाडीमा स्टिकर लगाएर प्रहरी प्रशासनले दुःख नदिने वतावरण बनाउँनुपर्छ।’
पर्यटकलाई आर्कषित गर्नका लागि विभिन्न योजना बनाएपनि संघ सरकारको असहयोगका कारण काम अघि बढ्न नसकेको उनको भनाई छ।
‘पहाड, जंगल हेरेर मात्रै पर्यटक लोभिदैनन, सिंगापुर, दुवई, थाईल्याण्डमा के छ ? डेढ सय करोड लगानी गरेर बौद्यी खोलामा पर्यटकीय पूर्वाधार बनाउन खोजेका छौं, ३५ विगाहा सार्वजनिक जग्गा र विद्यालयको १४ विगाहा जग्गा फेला पारेका थियौं, आधा जग्गा भूमाफियाले कब्जा गरिसकेको रहेछ। रामवन क्षेत्रमा प्राकृतिक चिडियाखाना बनाउन डिपिआर तयार गरिरहेका छौं। वीरगञ्ज महानगरपालिकाले ७० विगाहा जग्गा घेरेर वृक्षारोपण गर्दैछ। त्यसका लागि ३ करोड ३० लाख छुट्याएको छ’, उनले भने, 'तर स्थानीय सरकारलाई सार्वजनिक जग्गाको चौकिदार मात्रै बनाएर राखिएको छ। लिजमा दिन सक्ने अधिकार छैन। संघ सरकारलाई १ हजार वटा पत्र लेखिसक्दा एउटा पत्रको समेत जवाफ आएको छैन।'
संघ, प्रदेश र स्थानीय सरकार तीनै तहबीच समन्व्य भए पर्यटन पुर्नउत्थानमा धेरै काम गर्न सकिने तर्क उनको छ।
‘रामभौरी भाठामा पर्यटकलाई लिएर कसरी जान सकिन्छ ? सौराहामा जस्तो ठाउँका विकास पर्सामा किन नगर्ने ?’, नगर प्रमुख सरावगीले भने, ‘युपी र बिहारका पर्यटकलाई मात्रै तान्न सकेपनि राख्ने ठाउँ पुग्दैन। तर स्थानीय तहले मात्रै चाहेर हुँदैन।’
वीरगञ्जलाई राम्रो हुने गरी विगतदेखि नै काम हुन नसकेको नगर प्रमुख सरावगीले बताए।
‘औद्योगिक र आर्थिक राजधानी भनिन्छ, कुल राजश्वको ४० प्रतिशत यतैबाट जान्छ। बोर्डरबाट आउँदा जुन धुलो फेस गरिरहनुभएको छ त्यसैको उपज हो। सरकारको विरुद्ध आन्दोलन यहिबाट गर्ने तर लगानीका हिसाबले राजनीतिक पूर्वाग्रह राख्ने गरिएको छ’, उनले भने ‘वीरगञ्जले के पाप गरेको छ, सबैले फाईदा लिनुहुन्छ तर वीरगञ्जलाई केहि दिनुहुन्न ?’
होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका संरक्षक अनिल रुँगटाले कोभिडले होटल तथा पर्यटन व्यवसाय ९ महिनासम्म शुन्य अवस्थामा रहेको बताए। तर राज्यबाट प्याकेज घोषणा गरेर उचित सम्बोधन हुन नसकेको उनको भनाई छ।
‘कोभिड महामारीबाट थला परेका होटललाई सरकारले कुनैपनि हिसाबले सहयोगको घोषणा गरेन, यसबाट पर्यटन क्षेत्रको विकासका लागि चासो लिएको छैन भन्ने प्रष्ट देखिएको छ,’ उनले भने, ‘वीरगञ्जमा पर्यटन क्षेत्रको विकासका लागि मात्रै नभएर अन्य पूर्वाधार निर्माणमा कतैबाट कुनै किसिमको सहयोग प्राप्त छैन। नयाँ संचरना आउन सकेको छैन, भएका संरचनाको पुर्नउत्थान भएको छैन। धुलोमय सहरमा बसिरहेका छौं। पर्यटन प्रवद्धन त्यति सहज छैन।’