वर्षौदेखि तामाखानी अलपत्र अवस्थामा

File photo
File photo

म्याग्दीका विभिन्न स्थानमा रहेका तामाखानी जङ्गलमै पुरिएर खेर गइरहेका छन्।

जिल्लाका  धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न ठाउँमा रहेका १७ वटा ठूला तामाका खानीहरु राज्यको झन्झटिलो कानूनी प्रावधान र आधुनिक उपकरणको अभावका कारण सञ्चालनमा आउन नसक्दा वनपाखामै खेर गएका हुन्।

रघुगङ्गा–६ मा पर्ने ठाडाखानी गाउँको सिरानमा पर्ने रुमले भिर, धौलागिरि–५ मल्कबाङको मल्काबाङे भिर र मालिका गाउँपालिकाको ओखरबोटका साथै बेनी–३ को चिनाखेत भिरमा रहेका तामाखानी प्रयोगविहीन हुँदा स्थानीय सरकारले करोडौँ राजस्व गुमाउनु परेको छ। विशाल तामाखानी वर्षौँदेखि अलपत्र अवस्थामा छन्।

एक सय छ वर्षअघि विसं १९७१ सालमा बन्द भएको रुमले भिरको तामाखानी सञ्चालनमा अझैसम्म पनि स्थानीय र प्रदेश सरकारले कुनै चासो नदेखाएको स्थानीयवासीले बताएका छन्। त्यस्तै वर्षौँदेखि प्रयोगविहीन भएका मल्कबाङका तामाखानीहरु पनि पुरिन थालेका छन्।

करिब १०० वर्ष पहिला स्थानीयवासीहरुले तिनै खानीबाट तामा निकालेर घरायसी भाँडाबर्तनहरु बनाउने गर्दथे। बाहिरबाट तामाका भाँडाहरु खरिद गर्नु पर्दैनथ्यो। तत्कालीन सरकारले खानी उत्खनन् गर्नेहरुबाट कर लिन थालेपछि खानी बन्द भएका हुन् ।

मल्कबाङ गाउँमा मात्र एक दर्जनभन्दा बढी तामाखानी छन्। खानी उत्खनन गर्नु स्थानीय छन्त्याल जातिको पुख्र्यौली पेशा हो। रासस

प्रकाशित मिति: : 2021-03-10 07:05:00

प्रतिकृया दिनुहोस्