कोभिड-१९ भ्याक्सिनको पूरै डोज लगाएका व्यक्तिले के के गर्न हुन्छ? 

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिनको पूरा डोज लगाएका व्यक्तिले पनि सार्वजनिक स्थलमा मास्क लगाउनुपर्ने र समााजिक दूरी कायमै गर्नुपर्ने भएको छ। अमेरिकी संघीय सरकारको रोग नियन्त्रण तथा रोकथामको लागि आधिकारिक संस्था सीडीसीले भ्याक्सिनको पूरा डोज लगाइसकेका व्यक्तिका लागि के गर्न हुने र के गर्न नहुने सन्दर्भमा जारी गरिएको पछिल्लो निर्देशिकामा यस्तो जनाइएको छ।

निर्देशिकामा भ्याक्सिनको पूरै डोज लगाएका व्यक्ति १४ दिनपछि भने मास्क नलगाई र सामाजिक दूरी कायम नगरी पनि निजी स्थलमा एकआपसमा भेटघाट गर्न सक्नेछन्। तर भ्याक्सिन लगाएका र नलगाएका धेरै व्यक्ति भेटघाट हुने निजी स्थलमा भने मास्क लगाउन र सामाजिक दुरी कायम गर्नुपर्ने हुन्छ।

अमेरिकामा कोभिड-१९ भ्याक्सिनको पूरै डोज लगाएका व्यक्तिले के गर्न हुन्छ, के गर्नु हुदैन? भन्नै अन्यौल हटेको छ। अमेरिकी सरकारको रोग नियन्त्रण तथा रोकथामको लागि आधिकारिक संस्था सीडीसीले सोमबार एक निर्देशिका जारी गरी अन्यौल हटाउने काम गरेको हो।

यसैगरी निर्देशिकामा भ्याक्सिन लगाएको व्यक्तिले कम जोखिममा रहेको भ्याक्सिन नलगाएको एउटा परिवारसम्मलाई मास्क नलगाई र सामाजिक दुरी कायम नगरी भेट्न सकिने जनाइएको छ।तर, ठूला जमघटमा सकभर सहभागी नहुन सुझाव दिइएको छ।  

अमेरिकामा अहिले तीन खालका कोभिड १९ प्रयोगमा छन्। मोडेर्ना र फाइजर दुई दुई डोज लगाउनुपर्ने खालका छन् भने जोन्सन एण्ड जोन्सनको भ्याक्सिन भने एकडोजमात्र लगाए पुग्नेखालको छ । एक डोज लगाउने होस् या दुई डोज लगाउने होस्, पूरा डोज लगाएको व्यक्ति १४ दिनपछि इम्युनाइज भएको मानिनेछ ।

सीडीसीका अनुसार अहिलेसम्म अमेरिकामा झण्डै १० प्रतिशत व्यक्तिले मात्र कोभिड-१९ भ्याक्सिनको पूरै डोज लगाइसकेका छन्। यसमा पनि कतिपय राज्यमा धेरैले भ्याक्सिन लगाएका छन् भने कतिपय राज्यमा कम व्यक्तिले। तथ्यांकले के पनि देखाएको छ भने अन्य रंगका अमेरिकीले भन्दा गोरा अमेरिकीले बढी मात्रामा भ्याक्सिन लगाएका छन्। अहिले अमेरिकाका अधिकांश राज्यमा ६० वर्षभन्दा बढी उमेरका अमेरिकीलाई भ्याक्सिन उपलव्ध छ।

यसैबीच राष्ट्रपति बाइडनले आउँदो तीन महिनाभित्रमा सबैलाई पर्याप्त पुग्ने गरी कोभिड-१९ भ्याक्सिन उपलव्ध हुने बताउदै सबैले भ्याक्सिन लिइसक्ने विश्वास व्यक्त गरेका छन्।  

प्रकाशित मिति: : 2021-03-09 08:26:00

प्रतिकृया दिनुहोस्