मोरङको सुन्दरहरैँचामा आइतबार बिहान भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानास्थित मध्याली पुलनजिक हायस माइक्रो र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको हो।
मृतक दुवै जनाको बिहान ७ बजेतिर पहिचान खुलेको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा बिहान १ः४० बजेतिर विराटनगरको कोसी अस्पतालमा ज्यान गएको एसपी शर्माले बताए।
उनका अनुसार ढिलो गरेर दुवै मृतकको पहिचान खुले पनि उनीहरुमध्ये कसले मोटरसाइकल चलाएका थिए भनेर यकिन हुन सकेको छैन।
दुर्घटनामा हायसका चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका अन्दाजी १८ वर्षीय उत्सव गिरी घाइते भएका छन्।
गम्भीर अवस्थाका दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको जानकारी शर्माले दिए।
एसपी शर्माका अनुसार दुर्घटना भए पनि हायसमा यात्रा गरिरहेका १२ जना यात्रु भने सकुशल रहेका छन्। उनीहरु आफ्नो गन्तव्यतर्फ लागिसकेका छन्।
हायसका चालकले मापसे गरेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। मृतक दुई जनाले मापसे गरे–नगरेको खुल्न बाँकी छ।दुर्घटनामा परेर हायसकाे अगाडिको भागमा क्षति पुगेको छ।
काठमाडौंबाट यात्रु लिएर झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस र विपरीत दिशा (पूर्वबाट पश्चिमतर्फ) बाट आउँदै गरेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।