महिला मानवअधिकार रक्षक सञ्जाल जिल्ला शाखा सप्तरीको अध्यक्षमा अनिता देवकोटा निर्वाचित भएका छन्।
सञ्जालको आज राजविराजमा भएको प्रथम साधारणसभा तथा अधिवेशनले एकल महिला समूहकी अध्यक्ष देवकोटाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो।
समितिको उपाध्यक्षमा पत्रकार सुधा देव, सचिवमा एकल महिला समूहकी माधवी शाह, सहसचिवमा अधिवक्ता मनु खनाल र कोषाध्यक्षमा सप्तरी सामुदायिक सेवा केन्द्रकी ललीता कर्ण निर्वाचित भएका छन्।
सदस्यमा मालती चौधरी, ज्ञानु भट्टराई, बबिता देव, सुष्मा गुप्ता, राजकुमारी साह, पुनम पोखरेल, सुनैरवती यादव, गीता पाण्डे, साधना कर्ण, बेबी गुप्ता, कमला खनाल, प्रियासिंह चौधरी रहेका छन्।
यस्तै समितिको सल्लाहकारमा महिला शिक्षक मञ्जु श्रेष्ठ, इन्सेक प्रतिनिधि मनोहर पोखरेल र दहेज मुक्त मिथिलाकी अध्यक्ष करुणा झा रहेका छन्।
यसअघि अधिवेशनको उद्घाटन सत्रमा मञ्जु श्रेष्ठ, मनोहर पोखरेल र करुणा झाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य हुनुपर्ने बताउँदै महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारका लागि सञ्जालले काम गर्नुपर्नेमा जोड दिए।
महिला मानवअधिकार रक्षक सञ्जाल सप्तरीको नवनिर्वाचित अध्यक्ष देवकोटाले सप्तरीको स्थानीय तह, प्रहरी, प्रशासन, न्यायालय, नागरिक समाज र मानवअधिकारकर्मीसँग समन्वय गरी महिला तथा मानवअधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए। रासस