भक्तपुरका १५ वर्षीया राकेश कोथु अहिले फर्सदिला छन्। कोरोनाका कारण विद्यालयमा बिहान पढाइ हुन्छ दिउँसो छुट्टी। त्यही कारण उनले अहिले आफ्नो शहरको प्रख्यात नाचमा रमाउन समय निकाल्न सकेका छन्। पहिला भने दिनभर विद्यालय हुँदा उनी खुलेर जात्रामा रमाउन सक्दैन थिए।
गत आइतबार उनी टौमढीमा भेटिए, स्वेत भैरवलाई जिस्काउँदै। नवदुर्गा नाच अन्तर्गत आकर्षक र महत्वपूर्ण मानिने 'ङालाक्येगु नाच' (माछा समाउने नाच) हेर्न धेरै संख्यामा मानिसहरु भेला भएका थिए। नित्य पूजापछि श्वेत भैरव माछा खोज्दै टौमढी स्क्वारयमा नृत्य गर्दै हिँडे। कोथुजस्तै अन्य बालक र युवाहरुले श्वेत भैरवलाई जिस्काउँदा माहोल रोमाञ्चित बनेको थियो।
माछा समाउने भनेपनि साच्चिँकै माछा भने यसमा प्रयोग हुँदैन। देवगणले मानिसलाई माछा थानेर 'ङालाक्येगु' भन्दै समाउन हिँड्छन्। बालक र युवाहरु 'आबाबाबा' भन्दै जिस्काउँछन, श्वेत भैरव उनीहरुलाई समाउन हिँड्छन्। देवगणले जसलाई समाउँछ उसलाई कान समाएर र उनलाई भेटी तिर्न लगाइन्छ।
संस्कृतिविद् ओम धौभडेलका अनुसार माछा सिपालु प्रणाली हो। मानिस पनि माछा झै सिपाली हुन्छ। त्यसैले मृत्यु लोकमा आएर नवदुर्गाले मानिसलाई माछा मानी समाउने प्रयास गर्छन्। त्यसैले यो नाचलाई ङाल्याकेगु नाच भन्ने गरिएको हो।
भक्तपुरको सांस्कृतिक जीवनमा महत्वपूर्ण भूमिका राख्ने नाच हो नवदुर्गा नाच। ८ महिनसम्म संचालन हुने यो नाच भलभल अष्टमीमा सकिन्छ। सो दिन सबै देवगणको ख्वापा जलाइन्छ। अनि दशैंको महानवमीको दिनसम्म फेरि नयाँ ख्पापा बनाइन्छ।