खल्तीबाट मान्छे नियुक्ति गर्दाको असर निर्वाचन आयोगमा देखियो : प्रथम राष्ट्रपति रामवरण यादवसँगको अन्तर्वार्ता

शिलापत्र

काठमाडौँ

प्रथम राष्ट्रपति रामवरण यादव जनकपुरस्थित आफ्नो निवासमा छन् । मधेसको केन्द्रबाट उनले राष्ट्रमा विकसित घटनाक्रमलाई कसरी नियालिरहेका छन् ? जटिलतातर्फ उन्मुख राजनीतिप्रति उनको दृष्टिकोण के छ ? प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र राष्ट्रपतिलाई महाभियोगबाट हटाउनुपर्ने चर्चा भइरहेका बेला उनीहरूमाथि सदनले चाल्नुपर्ने कदमप्रति यादवको सुझाव के छ ? प्रथम राष्ट्रपतिको ओहदाबाट मूल्यांकन गर्दा संविधान कार्यान्वयन, धर्मनिरपेक्षता, र संघीयताको सुदृढीकरणको अवस्था कस्तो पाउँछन् ?शिलापत्रका प्रधान सम्पादक बसन्त बस्नेतले गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवलाई प्रश्‍न गरेका छन् ।

मधेसको केन्द्र जनकपुरबाट राष्ट्रिय राजनीतिलाई नियाल्दा कस्तो पाउनुहुन्छ ?

प्रतिनिधिसभा विघटन हुँदा म आश्चर्य चकित भएको थिएँ । कार्यकारी संस्थाले संविधान नमानेको अवस्थामा संविधानको संरक्षकत्वको दायित्व भएको संस्थाले कार्यकारीलाई गाइड गर्नुपर्थ्यो । संविधानको दायरभन्दा बाहिर कार्यकारीबाट सिफारिस आएको अवस्थामा संवैधानिक जानकार, प्रतिपक्षी दल र यससँग सरोकार राख्ने राजनीतिक दलहरूलाई बोलाएर राष्ट्रपतिले छलफल गर्नुपर्थ्यो  र प्रधानमन्त्रीलाई सल्लाह दिनुपर्थ्यो । म राष्ट्रपति हुँदा यो अभ्यास भएको थियो । जे होस्, संसदको पुनर्स्थापनापछि राष्ट्रिय राजनीति एउटा ट्रयाकमा गएको छ ।

राष्ट्रपतिबाट संवैधानिक जिम्मेवारी बहन हुन सकेन भन्ने तपाईंको टिप्पणी हो ?

राष्ट्रपति आफ्नो संवैधानिक जिम्मेवारी बहन गर्न चुक्नुभएको छ ।

प्रधानमन्त्रीको असंवैधानिक कदमलाई राष्ट्रपतिले सोचविचारै नगरी सदर गर्नुका पछाडि के बाध्यता हुनसक्छ तपाईंलाई राष्ट्रपतिको बाध्यता के थियो जस्तो लाग्छ ?

बाध्यता के थियो राष्ट्रपतिले जान्ने कुरा भयो । तर, संविधानमा लेखिएको स्पष्ट प्रावधानलाई मध्यनजर गर्दै उहाँले संविधानको कुन धाराअनुसार विघटनको सिफारिस गर्नुभयो भनेर सोध्नुपर्थ्यो । उहाँले पार्टीभित्र छलफल गर्नुस् र राम्रो काम गरेको अवस्थामा संसदमा समर्थन पाउने अवस्था पनि आउँछ त्यतातर्फ केन्द्रित हुनुस् भन्ने सल्लाह दिनुपर्थ्यो । उहाँले यस्तो सल्लाह नदिएकै कारण मैले भनिरहेको छु कि राष्ट्रपति चुक्नुभयो ।

प्रकाशित मिति: : 2021-03-05 21:35:00

प्रतिकृया दिनुहोस्