'तर पनि मैले खेल्न छोडिनँ...'

बाह्रखरी

काठमाडाै‌ं

काठमाडौं । “राष्ट्रिय टोलीलाई धेरै मिस गरेको छु,” बालुवाटारस्थित एक क्याफेमा कफीको चुस्की लिँदै रविन श्रेष्ठले आफ्नो फुटबल करियरको यात्रामा लागेको 'ब्रेक' सम्झिए । मन्द मुस्कानसँगै उनले भनेको शब्दमा पीडा प्रष्टै झल्किन्थ्यो ।

लामो समय फुटबलमा बिताएका उनी चोटका कारण चार वर्ष खेलबाट टाढा रहे । त्यसको पीडा बेग्लै हुने नै भयो । “अब नजिकिँदै छु, फुटबलसँग । मेरो जीवनमा हाल जे जति छ, त्यो फुटबलले नै दिएको हो । योबाट टाढा हुन सक्दिनँ । फुटबलबाट टाढा रहँदाको पीडा मैले महसुस गरिसकेँ,” रविनले भने ।

रविन श्रेष्ठ नेपाली फुटबलमा परिचित नाम हो । सन् २००८ देखि २०१७ सम्म उनको प्रदर्शन निरन्तर रह्यो । २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपमा उनको प्रदर्शनको चौतर्फी चर्चा भयो । 

नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेल्ने रविनले पुलिसलाई 'ए' डिभिजन लिगको उपाधि र नेपाललाई सोलिडारिटी कप र बंगबन्धु कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले ।

उमेर समूहदेखि राष्ट्रिय टोलीसम्म उनको प्रदर्शन लोभलाग्दो भयो । “नेपालका लागि पहिलोपटक खेल्दा नै आफूले उत्कृष्ट प्रदर्शन गर्छु भन्ने सोच आयो । पहिलो खेलमा सबैको मन लोभ्याउन सकेँ । त्यसपछि राष्ट्रिय टोलीमा फर्केर हेर्नु परेन । सबै खेलमा आफूले सकेको शतप्रतिशत दिएँ,” उनले भने ।

प्रकाशित मिति: : 2021-03-03 08:01:00

प्रतिकृया दिनुहोस्