उच्च अदालत विराटनगर, इलाम इजलासले प्रदेश नं १, उद्योग, पर्यटन तथा वन मन्त्रालय तथा झापाको मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकालाई १५ दिनभित्र फोहोरमैला व्यवस्थापनसम्बन्धी जवाफसहित हाजिर हुन आदेश गरेको छ।
मेचीनगर नगरपालिका–७ का होमनाथ प्रसाईंले झापाको मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकाले जथाभावी फोहोरमैला फ्याँकेर वातावरण प्रदूषित तुल्याएको आरोप लगाउँदै मन्त्रालय र तीनवटा स्थानीय तहलाई विपक्षी बनाई परमादेश आदेशको मागसहित सोमबार इलाम इजलासमा रिट दर्ता गरेका थिए।
उच्च अदालतका न्यायाधीश विष्णुप्रसाद कोइरालाले रिट सम्बन्धमा सोमबार पहिलो सुनुवाइ गर्दै विपक्षीहरुका नाममा परमादेश किन जारी नगर्नु पर्ने हो त्यसको जवाफसहित अदालतमा उपस्थित हुन आदेश जारी गरेको निवेदकका पक्षबाट बहस गरेकी अधिवक्ता हेमकला कट्टेलले बताइन्।
नेपालको संविधानको धारा–३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने उल्लेख भएको जनाउँदै रिट निवेदक प्रसाईले नगरपालिकाहरुले राजमार्ग किनारमा फोहोर फ्याँक्ने र डढाउने गरेको, नदी किनारमा फोहोर विसर्जन गरेको, आगो लगाएर फोहोर डढाउने कार्य गरी वातावरणमा विषाक्त प्रदूषण फैल्याउने गरेको र ल्यान्डफिल्ड साइटको व्यवस्था नगरेको आरोप लगाएका छन्।
अधिवक्ता कट्टेलका अनुसार निवेदकले मन्त्रालय र नगरपालिकाहरुलाई ल्यान्डफिल्ड साइटको व्यवस्था गर्न लगाउन, कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै गाडीबाट सङ्कलन गराउन, राजमार्ग किनार र नदीहरुमा फोहोर विसर्जन नगर्न र डढाउने कार्य रोक्न, नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको प्रत्याभूति गर्न परमादेश आदेश जारी गरिनुपर्ने माग गरेका छन्।
रिट निवेदकका तर्फबाट अधिवक्ता हेमकला कट्टेल र अधिवक्ता पदमबहादुर श्रेष्ठले बहस पैरवी गरेका थिए।
वातावरणसम्बन्धी स्वच्छता कायम राख्ने विषय शीघ्र किनारा लाग्नुपर्ने देखिएको हुँदा यो मुद्दालाई अग्राधिकार दिनेसमेत अदालतबाट आदेश भएको कट्टेलले बताए।
झापाका नगरपालिकाहरुले फोहोरमैला व्यवस्थापनमा गरिरहेको लापरवाही रोक्न माग गर्दै मेचीनगर–७ का होमप्रसाद प्रसाईं र भद्रपुर–९ का कमलप्रसाद राजवंशीले मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकामा ज्ञापनपत्र पेश गरेका थिए।
बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्षमा शिवाकोटी
बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित भएका छन्।
गए राति प्राप्त मत परिणामअनुसार लोकतान्त्रिक प्यानलका उम्मेदवार शिवाकोटीले दुई हजार १३९ मत ल्याई प्रतिस्पर्धी संयुक्त व्यावसायिक प्यानलका अध्यक्ष सुवास भट्टराईलाई पराजित गर्दै विजयी भएका हुन् ।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे र वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे विजयी भएका छन्।
महासचिवमा संयुक्त प्यानलका अर्जुनकुमार मैनाली, उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेल, कोषाध्यक्षमा दीपेन्द्र राउत विजयी हुनुभएको निर्वाचन समितिका सदस्य केशवकुमार भट्टराईले जानकारी दिए।
महिलातर्फको आरक्षित सहकोषाध्यक्षमा राधिका चुडाल हुमागाई र सदस्यहरुमा गुञ्जन प्रसाई २००८, गौरीशङ्कर गुप्ता (टिङ्कु), जीवनकुमार खड्का, दीपक मित्तल, पुकार बराल, बलराम सिटौला (राम), विशाल थापा विजयी भएका छन्। सङ्घको निर्वाचन यही फागुन १६ गते भएको थियो। रासस