बास्तोला मृत्यु प्रकरणका अर्का प्रतिवादी पनि पक्राउ

मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका अर्का प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

घटनाका आरोपी १९ वर्षीय सुदीप परियार पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट सोमबार राति नियन्त्रणमा लिएको हो।

परियारविरुद्ध यसअघि नै कर्तव्य ज्यान मुद्दा अदालतमा दर्ता भइसकेको छ। उनलाई प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आज मङ्गलबारनै अदालतमा पेस गर्ने तयारी गरेको छ।

बास्तोला मृत्यु प्रकरणमा जोडिएपछि फरार बनेहरुको खोजी तीव्र बनाएको प्रहरीले प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको छ।

मृत्यु प्रकरणमा जोडिएका उर्लाबारी नगरपालिका–६ का ६० वर्षीय रमेश गिरीलाई जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले सोमबार मात्रै एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो।

गिरीलाई प्रहरीले आइतबारसाँझ पक्राउ गरेर सोमबार अदालतमा बुझाएको थियो।

उर्लाबारी–६ स्थित गिरीको घरमा डेरा बस्ने साथीहरुको कोठामा अघिल्लो रात सुत्न गएका प्रवीणको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो।

मुद्दामा प्रतिवादी बनाइएकामध्ये चार जना पक्राउ परिसकेका छन्। उर्लाबारीका राजेश रणपहेली र झापा बैगुनधुराका ३१ वर्षीय दीपेश पौडेल फरार छन्।

फरार भएकाहरुको खोजी तीव्र पारिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।

प्रकाशित मिति: : 2021-03-02 11:48:00

प्रतिकृया दिनुहोस्