म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।
सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने तोरीपानीका कृषक सागर बानियाँले टिमुर र सतुवाका बिरुवा र फल बिक्री गरेर सो आम्दानी गर्न सफल भएका हुन्।
जिल्लामा नमूना टिमुर कृषकको रुपमा चिनिनुभएका उनले दुई टनेलमा ४० हजार टिमुरको बिरुवा बिक्रीका लागि तयारी अवस्थामा राखेका छन्। त्यसैगरी घरमै नर्सरी स्थापना गरेर आयुर्वेदिक औषधिका लागि प्रयोग गरिने बहुमूल्य जडीबुटी सतुवाका बिरुवा पनि उत्पादन गरेका छन्।
उनले टिमुरका बिरुवा, फल र सतुवाका बिरुवा बेचेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी हुने जानकारी दिए। सतुवाका बिरुवा उत्पादन गर्न थालेपछि नर्सरीमै बिरुवा लिन आउनेको घुइँचो लाग्न थालेको उनले बताए।
कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले सतुवा खेतीलाई प्राथमिकतामा राखेर तीन रोपनी जमिनमा बिरुवासमेत लगाएका छन्। उनले पहिलो वर्ष ग्रीन हाउस निर्माण, जग्गाको माटो परीक्षण गरी बाहिरी जिल्लाबाट सतुवा ल्याएर लगाएका थिए।। रासस